मनोहर पोखरेल ,राजविराज । मानवअधिकार तथा दलित आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिका–३ का ४४ वर्षीय असर्फि सदालाई बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०७५ बाट सम्मानित गरिने भएको छ ।
२६औं प्रकाश स्मृति दिवसका अवसरमा बुधबार नेपाल पत्रकार महासंघको भवनमा हुने समारोहमा सदालाई सो पुरस्कारबाट सम्मानित गरिने निर्णय भएको बैध–प्रकाश मानवअधिकार पुरस्कार कोषका सदस्य एवं इन्सेक प्रतिनिधि मनोहर पोखरेलले जानकारी दिनुभयो ।
बैद्य–प्रकाश मानवअधिकार कोष समितिका अध्यक्ष बैद्यनाथ झाको अध्यक्षता एवं इन्सेकका पूर्वाञ्चल क्षेत्रीय संयोजक सोमराज थापाको प्रमुख आतिथ्यतामा हुने समारोहमा उनलार्ई पुरस्कारस्वरुप तीन हजार एक सय रूपैयाँ, सम्मान–पत्र तथा दोसल्ला प्रदान गरिने छ ।
दुई दशकदेखि दलित, भूमिहिन, सुकुम्बासीको हकअधिकार प्राप्ति र संरक्षणको आन्दोलनमा सक्रिय सदाले दलित सशक्तिकरण, मानवअधिकार र सामाजिक न्यायका लागि निरन्तर क्रियाशील रही २०५५÷०५६ यताको सिनो वहिष्कार आन्दोलनमा प्रशंसनिय भूमिका निर्वाह गर्नुभएको थियो । सुकुम्बासी र भूमिहीनहरुको पक्षमा मधेसमा क्रान्तिकारी भूमिसुधारको आवश्यक्ताको वकालत गर्दै लोकतन्त्र र गणतन्त्रका लागि सक्रिय रहदै आउनुभएका सदाले करिब दुई वर्ष प्रहरी, सेनाको हिरासत र कारागारमा चरम यातना भोग्नुभएको छ ।
भूमि तथा कृषि अधिकार, जातीय छुवाछुत र घर उठिवासविरुद्धको अभियानमा सप्तरी, सिरहालगायतका जिल्लामा सदाको क्रियाशीलता उत्साहजनक रहेको छ । मुसहर समुदायमा जागरण ल्याउन हरसम्भव प्रयास गर्दै आउनु भएका प्रविणता प्रमाण पत्र तह उत्तिर्ण एवं दक्षिण एशिया मुसहर उत्थान परिषद्का सदस्य सदाले पछाडि परेका वर्गको आर्थिक, सामाजिक र शैक्षिक सुधारका लागि निरन्तर आवाज उठाउँदै आउनु भएको छ ।
यस क्रममा उहाँले २०६३ सालमा अन्तरिम व्यवस्थापिका सदस्य भई महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
लेलाई सदा र डेरनीदेबी सदाका कान्छा सुपुत्रका रुपमा २०३१ साल असोज २ गते साविक हरिहरपुर गाविस ३ मट्टिगढामा जन्मनु भएका सदाका एक श्रीमति, दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँ नेपाल सदाय संघ सप्तरी र समाज सहकार्य सप्तरीको सल्लाहकार समेत हुनुहुन्छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा ‘२१ औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट सम्मानित राजविराज ७ का बैद्यनाथ झाले प्राप्त गरेको नगद रु. ५० हजारबाट स्थापना गरिएको बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट पहिलोपटक २०७३ मा दलित आन्दोलनका अगुवा बलदेव रामलाई र दोस्रोपटक २०७४ मा युक्तिलाल मरिकलाई सम्मानित गरिएको थियो ।
थाइ एयरबसको विमान नुवाकोटको घोप्टेभीरमा ०४९ साउन १६ गते दुर्घटना हुँदा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको निधन भएको थियो ।
असर्फि सदाको तस्विर ।