काठमाडौं। २७ दिनसम्म अनसन बसेका डा गोविन्द केसीले २५औं दिनपछि भने आफूलाई अब बाँच्दिनँ भन्ने लागेको बताएका छन्। अनपछिका १२ दिन उपचार गरेपछि मंगलबार पत्रकार सम्मेलनमा अनसन अनुभूति सुनाउँदै यसो भनेका हुन्।
उनले आफू शारीरिक रुपमा कमजोर हुँदै जाँदा पनि सरकार माग पूरा गर्न तत्पर नदेखिएपछि तीन करोड नेपालीका लागि ज्यान दिन मानसिक रुपमा तयार भएको बताए। त्यतिबेला जनताको सरोकारका लागि बरु मर्ने तर अनसन नतोड्ने दृढता बढेको उनले सम्झिए। मर्छु भन्ने डर थिएनु, उनले भने, म आफ्ना मागमा अडिग थिएँ।
डा केसीले आफू बिरामीको सेवामा रमाउने मान्छे भएकाले ६ हप्तासम्म पनि बिरामीको सेवा गर्न नपाएका कारण दुख लागेको बताए। सरकारले मसँग गरेको सहमति कार्यान्वयन गरेको भए मैले अनसन बस्नुपर्ने थिएन। यति लामो समय बिरामीको सेवाबाट वञ्चित हुनुपर्ने थिएन उनले भने, मलाई भनेर कुरिरहेका बिरामीलाई पनि सेवा गर्न सकिनँ। त्यसका लागि म क्षमा माग्छु।