कंचनपुर। प्रहरीले निर्मला हत्या प्रकरणको छानबिनका लागि शनिबार रोशनी बम र उनकी दिदी बबिता बमलाई पक्राउ गरेपछि पीडितका पक्षधर प्रदर्शनकारीले चाहेको काम भएको छ ।
१० साउनमा जब हराएकी छोरी खोज्दै निर्मलाकी आमा दुर्गा पन्त रोशनी र बबिता बस्ने घरमा पुगिन् । उनले दुईवटा जवाफ पाइन् । एउटा– टिमुर्केर ‘पोइल गई होला’ । र, अर्को अम्बक लिएर गएकी ।
उनीहरूको जवाफ नै शंकास्पद भएपछि प्रहरीमा उजुरी दिएका पीडित परिवारले दिदीबहिनीलाई पक्राउ गरी अनुसन्धान थाल्न भनेका थिए । तर तत्कालिन एसपी डम्बरबहादुर विष्टको दबाबमा यसरी अनुसन्धान थालिएन । एक, बम परिवारसँग विष्टको सुमधुर सम्बन्ध । त्यो भन्दा पनि भयानक सम्बन्धचाहीँ विष्टका छोरा र रोशनीको निकटता मानिन्छ ।
उनीहरूले निर्मलाकी आमालाई दिएको जवाफबाटै प्रहरीले अनुसन्धान थालेको छ । अनुसन्धानका लागि एसपीका छोरा र मेयरका भतिजलाई पनि पक्राउ गर्न गृह मन्त्रालयले अनुमति र आदेश दिइसकेको छ । ‘नयाँ शिराबाट अनुसन्धान सुरु भइसकेको छ, यसले एउटा निचोड निकाल्छ’, एक अनुसन्धान अधिकारी भन्छन्,‘अब सर्वसाधारणले देखाएका चासो र शंकाको विषय, प्रहरीको अनुसन्धानको रिपोर्टका आधारमा अघि बढिन्छ ।’
उखुबारीमा फालिएकी निर्मला पन्त कञ्चनपुरको भीमदत्त पन्त नगरपालिका–२ स्थित खोल्टी भन्ने ठाउँकी बासिन्दा हुन् । उनी स्थानीय सरस्वती माविमा कक्षा ९ मा पढ्दै थिइन् । उनी सामान्य एवं गरिब परिवारकी सदस्य थिइन् । उनका आमाबुबा ज्याला मजदुरी गर्ने वर्गका मानिस हुन् । गुजराका लागि घरमा चटपटे पसल छ ।
उनको शव लोकेन्द्र भट्टको उखुबारीमा भेटिएको थियो । अलि पर साइकल र किताबकापीहरू फेला परेका थिए ।
घटना भएको २४ दिनपछि भदौ ४ गते मृतक निर्मला पन्तकै गाउँको एकजना मानसिक अवस्था ठीक नभएको ४१ वर्षीय दिलिपसिंह विष्टलाई प्रहरीले बलात्कारी एवं हत्यारा भन्दै सार्वजनिक गरेको थियो । प्रहरीले यस घटनालाई लुकाउनका लागि यो षडयन्त्र गरेको बुझाई सर्वसाधारणमा भयो ।
आन्दोलनले उग्र रुप लिएपछि सरकारले विहीबार कञ्चनपुरका एसपी डिल्लीराज विष्ट, डीएसपी र सिडियो कुमारबहादुर खड्कालाई हटायो र उनीहरूका ठाउँमा एसपी कुबेर कठायत र तारानाथ अधिकारीलाई गृहमन्त्रालयले जिल्लामा पठायो ।
प्रहरी प्रधान कार्यालय तानिएका एसपी विष्ट कञ्चनपुरमा बासिन्दा पनि हुन् । घटनामा उनका छोराको पनि संलग्नता हुनसक्ने घटनाक्रम अगाडी आए पछि कतिपय रहस्य र तथ्य उनीसँग पनि हुनसक्छ ।
प्रहरीले अनुसन्धानलाई गलत हिसाबले घुमाउनुको तात्पर्य उनको छोराको संलग्नताले त होइन ? शंका जन्माउँछ । यसकारण एसपी विष्टसँग पनि प्रहरीले सोधपुछ गर्न आवश्यक देखिन्छ ।