सप्तरी । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरु केन्द्र सरकारको मातहतमा रहेकाले प्रदेश सरकारले दिएको विदा नमानेको बताएका छन् ।
नेपाल राष्ट्रबैंक र अन्य वित्तीय संस्थाले प्रदेश २ सरकारले सार्वजनिक विदाका दिन पनि कार्यालय खोलेकोमा विरोध भइरहेका बेला अर्थमन्त्री खतिवडाले बैंकहरुको निर्णय बचाउ गरेका हुन् ।
करदाता सेवा कार्यालय उद्घाटन गर्न सोमबार राजविराज आएका संघीय सरकारका अर्थमन्त्री डा। युवराज खतिवडाले बैंकहरु केन्द्रीय नीति अनुसार चल्ने भएकाले प्रदेश सरकारले दिएको विदा नमानेको बताए ।
उनले सप्तरीको पत्रकारसँग भने ‘बैंकहरु केन्द्रीय सरकारको अधिनमा रहेकाले उहाँहरुले आफ्नो दायित्व निर्वाह गरिरहनुभएको छ ।’ केन्द्र सरकारको मातहतमा रहेका कार्यालयले केन्द्र सरकारले दिएको विदा मात्र मान्ने उनले बताए ।
‘केन्द्रीय सरकारको अधिनमा रहने सरकारी कार्यालयहरुले केन्द्रले दिएको विदा मान्ने हो’ मन्त्री खतिवडाले भने, ‘उहाँहरुले कर्तव्य पालना गरिरहनुभएको छ ।’
प्रदेशभित्र प्रदेश सरकारको पनि केही अधिकार रहने भए पनि यस विषयमा छलफल जरुरी रहेको बताए । ‘प्रदेश सरकारले दिने विदाको सम्बन्धमा र कार्यालयहरुले कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेश सरकार र केन्द्र सरकार बसेर मिलाउनुपर्ने हुन्छ’ उनले भने । मन्त्री खतिवडाले यसबारेमा चाँडै केन्द्र र प्रदेश सरकार बसेर छलफल गर्ने बताए ।
कर बढेको फेसबुके कुरा
मन्त्री खतिवडाले करदाता सेवा कार्यालय राजविराजको उद्घाटन गर्दै सरकारले कर बढाएको हल्लालाई ‘फेसबुके’ हल्लाको संज्ञा दिएका छन् ।‘कुनै पनि करको दर बढाइएको छैन, यो हल्ला मात्रै हो’ खतिवडाले भने, ‘कुनै पनि सामान बिक्री गर्न जाँदा भएको फोहोर नगरपालिकाका मेयरले आफ्नो गोजीबाट रकम तिरेर सफा गराउने हो रु यसैले थोरै कर लगाउँदा पनि धेरै करको दर बढाइएको भनेर हल्ला चलाइएको छ ।’
यद्यपि कति कर लिने हो त्यसबारेमा स्थानीय सरकारले पनि सबैसँग छलफल गरेर लागू गर्न उनले सुझाव दिए ।
रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको निरीक्षण गरेका छन्।
विद्युत, पानी, सुरक्षालगात आधारभुत पूर्वाधार समेत नभएका कारण उद्योग सञ्चालमा समस्या परेको गुनासो बढरहेका बेला खतिवडाले औद्योगिक क्षेत्रको निरिक्षण गरेका हुन्।
निरीक्षणका क्रममा मन्त्री खतिवडाले औद्योगिक क्षेत्रको समस्याका विषयमा चासो व्यक्त गरेका छन्। उद्योगी/व्यवसायीले अन्य आधारभूत समस्यासँगै सुरक्षा चुनौती बढेको बताए। मुलुकका अन्य क्षेत्रमा औद्योगिक सुरक्षाबलको व्यवस्था भएपनि सप्तरीमा त्यो व्यवस्था नहुँदा उद्योग/व्यवसाय सञ्चालनमा समस्या परेको उनीहरूको गुनासो छ।
मन्त्री खतिवडाले औद्योगिक क्षेत्रमा सुरक्षा चुनौतीको विषयलाई गम्भीरतापूर्वक लिँदै चासो व्यक्त गरे। ‘औद्योगिक क्षेत्रलाई आन्तरिक वा बाह्य सुरक्षा खतरा छ’ भन्दै उनले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कर्मचारीहरूसँग जिज्ञासा राखेका थिए।