कंचनरुप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले बर्तमान कम्युनिष्ट सरकारले संघीयतालाई धरापमा पारिसकेको बताएका छन् । संघीयतालाई मजबुत बनाउने काम सरकारको हो, तर सरकारले नै संघीय व्यवस्था खारेज गराउनेतर्फ उन्मुख भएको उनको भनाई छ ।
नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर १ ले कंचनरुप नगरपालिकाको कंचनपुरमा आयोजना गरेको क्षेत्रिय सम्मेलनको आईतबार उद्घाटन गर्दै नेता थापाले पूर्व राजा ज्ञानेन्द्र र विप्लवभन्दा संघीयता समाप्तका लागि यो सरकारले काम गरिरहेको आरोप लगाए । ‘पूर्व राजाले मन्दिर धाउँदैमा र विप्लवले बन्दुक पड्काउँदैमा संघीय व्यवस्था खारेज हुँदैन’ थापाले भने, “यो सरकारकै कारण संघीयता खारेज हुने अवस्थामा पुगेको छ ।”
सम्पूर्ण अधिकार केन्द्रमै राख्ने, प्रदेश र स्थानीय तहलाई कुनै किसिमको अधिकार दिन नचाहनुबाट संघीयता टिक्न नसक्ने बताउँदै पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले भने, “सबै अधिकार आफैं राखेर भ्रष्टाचारमा चुर्लुम्म डुबेपछि संघीयतासँगै देश पनि डुब्ने अवस्था आइसकेको छ ।”
सरकारलाई दुई तिहाईको दम्भ अत्यधिक रहेको भन्दै उनले यो दम्भकै कारण सरकार आफैं असफलताको बाटोमा गइरहेको टिप्पणी गरे ।
नेता थापाले मधेशवादी भनाउँदा दलले मधेशी जनतालाई ठग्नेबाहेक कुनै काम नगरेको बताए । ‘उठो मधेश, जागो मधेश भन्दै मधेशी नेताले मधेशको नाममा लुट्नुबाहेक के गरे ? प्रश्न गर्दै थापाले भने, मधेशको नाममा राजनीति गर्नेहरु जनताको भन्दा पनि आफ्नो स्वार्थ पूर्ती गरेको कसैसँग लुकेको छैन् ।”
उनले संघीयता र गणतन्त्रको रक्षा जनतालाई आर्थिक, सांस्कृतिक, राजनीतिक अधिकार दिलाउन कांग्रेसले जनजागरण अभियान चलाउने बताए ।
कार्यक्रममा नेपाल ट्रेड् यूनियन कांग्रेसका केन्द्रीय सल्लाहकार रीता खनालले अहिलेको सरकारले जनताको हितमा काम गर्न नसक्ने बताउँदै कांग्रेस बिना यो देश समृद्विमा जानै नसक्ने बताइन् । मधेशी जनताप्रति मधेशी दलले कुठाराघात गरेको बताउँदै उनले दोहोरो नागरिकता लिनेहरुप्रति राष्ट्रवादी मधेशीहरुलाई सचेत रहनुपर्ने बताइन् ।
कांग्रेसका सप्तरी सभापति दिनेश प्रसाद यादवले अहिलेसम्म राष्ट्रमा भएका परिवर्तनहरु कांग्रेसको अगुवाईमा भएको हुँदा राष्ट्रको समृद्वि पनि कांग्रेस बिना पूर्ण हुन नसक्ने बताए । सप्तरी कांग्रेसको ठूलो इतिहास रहेको भन्दै उनले राणाहरुलाई सप्तरीबाट फिर्ता गराउन सफल भएको हुँदा जिल्लामा कांग्रेस कहिल्यै कमजोर नहुने बताए ।