सप्तरी । प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने कानुन ल्याउन लागिएको भन्दै नेपाल पत्रकार महासंघ आइतबार आन्दोलनमा उत्रेको छ। सरकारले ल्याउन लागेको नेपाल मिडिया काउन्सिल सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकु फिर्ताको माग गर्दै आन्दोलन थालिएको हो।
नेपाल पत्रकार महासंघले मन्त्रिपरिषद्बाट पारित भई संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले प्रेस काउन्सिलसहित सरोकारवाला पक्षसँगको छलफल र सहमतिबिना संसदमा दर्ता गरिएको उक्त विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगकारुपमा स्थापित गर्नुका साथै स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने ठहर गरेको छ।
महासंघले उक्त विधेयक तत्काल फिर्ता लिई सरोकारवाला पक्षसमेतको छलफल र सहमतिमा नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्य, मान्यताका आधारमा पुनः विधेयक मस्यौदा गर्न सरकारसँग माग समेत गरेको छ।
मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रति देश भरका पत्रकार आन्दोलनमा उत्रेको छ ।
आन्दोलन कार्यक्रम अन्तर्गत आइतवार जिल्ला प्रशासन कार्यालय सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाईएको छ । उक्त ज्ञापनपत्र संघर्ष समितिका संयोजक श्यामसुन्दर यादवले वाचन गरी निमित्त प्रजिअ ठाकुलाई बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै उनले तत्कालै सरोकारवाला निकायहरुमा पठाउने प्रतिवद्धता समेत समेत गरेका छन् ।
कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघका प्रदेश नम्वर २ का सचिव रामनारायण विश्वास, प्रदेश सदस्य ललिता साह, महासंघ शाखा सप्तरीका पदाधिकारीसहित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।