• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

उखु किसान र सरकारबीच सहमति

img

काठमाण्डौं। संघीय राजधानी काठमाडौं पुगेर आन्दोलन शुरु गरेका उखु किसान र सरकारबीच सहमति भएको छ । शुक्रबार पाँच बुँदे सहमति भएसँगै उखु किसानले आन्दोलन स्थगित गरेका छन् ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा शुक्रबार भएको छलफलमा पाँच बुदे सहमति भएको हो ।

सहमति अनुसार नेपाल सरकारबाट निर्धारण भएको उखुको मूल्य बमोजिमको उखु किसानको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीले आगामी माघ ७ गतेभित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्नेछ ।


उखु किसान र सञ्चालकहरुसँग सम्बन्धित उखुको उत्पादकत्व बढाउने,किसानहरुलाई समयमै मल, बीउलगायत मेसिन उपलब्ध गराउने सहमति पत्रमा उल्लेख छ । नेपाली चिनी उद्योगलाई आत्मनिर्भर र चिनी निर्यात समेत गर्नसक्ने बनाउन चिनी उद्योगको सह उत्पादनको उपयोग, उखुबापतको रकम तत्काल भुक्तानी गर्न चिनी उद्योगहरुलाई आवश्यक चालू पुँजी र नगद प्रवाहको व्यवस्थापनका उपाय सिफारिस गर्न तथा उखु किसानहरुको हरेक वर्ष देखिने भुक्तानी समस्याको दिगो समाधान गर्न उखु खरिद बिक्री गरेको रकम तुरुन्त भुक्तानी हुने स्वचालित प्रणाली बनाउने सम्बन्धमा अध्ययन गरिनेछ ।

यो अध्ययन गरी प्रतिवेदन दिन उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारवाला निकायहरु चिनी उद्योगी,किसान प्रतिनिधि र विज्ञहरु समेत रहेको कार्यदल गठन गर्ने र उक्त कार्यदलको प्रतिवेदन क्रमशः कार्यान्वयन गरिने सहमति पत्रमा उल्लेख गरिएको छ ।यस्तै, नेपाल सरकारबाट उखु किसानहरुलाई उपलब्ध गराइने अनुदान बापतको रकम किसानहरुले समयमै नपाएको गुनासोका सम्बन्धमा समयमै पर्याप्त रकम निकासाको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालय र अर्थ मन्त्रालयमा अनुरोध गरी पठाउने सहमति भएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी