• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

धार्मिक सभामा उर्लियो मुश्लिम समुदायको जनसागर

img

सप्तरी । सम्भवतः नेपालकै सबैभन्दा बढी सहभागी भएको धार्मिक सभा सप्तरीमा प्रारम्भ भएको छ । झण्डै १५ लाखभन्दा बढीको उपस्थितिमा जिल्लामा मुश्लिम धार्मिक सभा शुरु भएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिकाको जाँजरस्थित खड्ग नदी किनारमा मुश्लिम धार्मिक सभाको आयोजना गरिएको छ । धार्मिक सभामा नेपाल र भारतका मुश्लिमहरुको ठूलो संख्यामा सहभागिता रहेको छ ।

शनिबारसम्म झण्डै १५ लाखको संख्यामा उनीहरु भेला भइसकेका छन् । सहभागीहरु अहिले पनि आउने क्रम जारी नै रहेको छ । ‘सहभागीहरु आउने क्रम जारी रहेको छ’ आयोजकका मोहम्द इब्राहिमले भने, “आईतबारसम्मै सहभागीहरु आउनेछन् ।”
आईतबार साँझसम्म सहभागीहरु आइरहेका छन् ।

नेपालको बिभिन्न ठाउँका साथै भारतबाट समेत मुश्लिम धर्माम्बलीहरु बोदे बर्साइन आइरहेका छन् । भारतबाट आउने मुश्लिमलाई ल्याउन बोदे बर्साइनबाटै दुई दर्जन बस नै संचालन गरिएको छ । भारतीय सीमाबाट उनीहरुलाई ल्याउने र सभास्थलमा छाडिदिने काम हुँदै आएको छ ।

शनिबार सभास्थलमा तयार पारिएको टेन्टमा सहभागी अटाउन नसक्दा अधिकांस टेन्ट बाहिरै बसेर नवाज पढेका छन् । उनीहरु बाहिरै बसेर प्रवचन समेत सुनिरहेका छन् ।

सभास्थलमा महिला र बालबालिकाका प्रवेशलाई निषेध गरिएको छ । महिला र बालबालिका जान खोज्दा उनीहरुलाई बाहिरबाटै फर्काउने काम भइरहेको आयोजकले जनाएको छ । धार्मिक सभामा नेपाल र भारतका मुश्लिमलाई मात्रै बोलाउने जनाएको आयोजकले तेस्रो मुलुकबाट पनि बोलाएपछि गृह मन्त्रालयले सभा रोक्न बिहीबार आदेश दिएको थियो ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पुनः सभा संचालन गर्न गृहले अनुमति दिएको छ । गृहले तेस्रो मुलुकबाट आएकालाई फर्काउने शर्तमा अनुमति दिएको छ ।

सरकारको आदेश बमोजिम अन्य देशबाट आएकालाई फर्काइएको मुश्लिम आयोगका अध्यक्ष समीम अन्सारीले बताए ।
पाकिस्तान, बंगलादेश, साउदी अरब, कुवेत, थाइल्याण्डसहितका देशबाट समेत सहभागीलाई बोलाइएको थियो । मुश्लिम धर्माम्बलीको धार्मिक सभामा औपचारिक रुपमा उद्घाटन र भाषण ठोक्ने काम गरिएको छैन् । सिधैं प्रवचनको कार्यक्रम गरिएको छ ।

धार्मिक प्रवचनमा सहभागी हुन भारतको राजधानी दिल्लीबाट हजरत मौलाना साद साहेब आएका छन् । उनी नै मुख्य प्रवचनकर्ता रहेको अन्सारीले बताए ।

साद साहेब जमात विश्वका अध्यक्ष समेत हुन् । उनीसँगै नेपाली जमातका अध्यक्ष निसारुद्दिनको पनि सहभागिता रहेको छ ।

सभास्थलामा हजार बिघाभन्दा बढी जग्गामा टेन्ट, शौचालय निर्माण गरिएको छ । सभा स्थल आसपास एक लाखभन्दा बढी ठूला, मझौला तथा साना सबारीसाधन पार्किङ्ग गरिएको छ ।

सबारीसाधन पार्किङ्ग गराउनेदेखि व्यवस्थापन गराउन आयोजकले आफ्नै जनशक्तिलाई खटाएका छन् । सभास्थलमा स्वास्थ्य शिबिरका साथै खाने प्रबन्धको व्यवस्था समेत मिलाइएको छ । कतिपय सहभागीहरु आफैं ग्यास सिलिण्डर, चूल्होसहितका आवश्यक सामग्री बोकेर ल्याएका छन् ।

उनीहरुलाई सुत्नका लागि सोही ठाउँमा छुट्टाछुट्टै टेन्ट निर्माण गरिएको छ ।

सभास्थल आसपास सुरक्षाकर्मी पनि ठूलो संख्यामा परिचालित गरिएको छ । नेपाल तथा सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको सप्तरीका एसपी कृष्ण प्रसाइँले जानकारी दिए ।

मुश्लिम समुदायले धार्मिक सभा आयोजना गरेको बोदे बर्साइन नगरपालिकाले यस क्षेत्रमा मदिरा बिक्री, बितरणमा रोक लगाएको छ ।

नगरपालिकाले सभा हुने समय तीन दिन सम्मकै लागि बोदे बर्साइन बजार तथा आसपासका क्षेत्रमा मदिरा बिक्री, बितरण र प्रयोगमा रोक लगाएको हो ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै मदिराजन्य पदार्थ बिक्री बितरण गरेको पाइएमा व्यवसायीको दर्ता खारेज गरी कानून बमोजिम कार्वाही गरिने जनाएको छ ।

                                                                                                                                                                                           जनकपुर टुडे बाट लिएको समाचार

img

Share:
img

ताजा अपडेट

क्याटोगरी