राजविराज । सप्तरी र बारामा भएको छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । दुबै जिल्लामा मंगलबारै दुर्घटना भएको हो ।
सप्तरीको बोदेबर्साइन नगरपालिका ४, गौरास्थित भित्री सडक खण्डमा बोदेबर्साइनबाट विसनपुर जाँदै गरेको ना १ क ५५२७ नम्बरको टिपरले विपरित दिशातर्फ आउँदै गरेको स १ ह ३७९५ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सबार दुई जना भारतीय नागरिकको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा दुर्घटनामा अटोमा सवार भारतको अररिया जिल्लाको मोतिहारी ग्राम पंचायत निवासी २६ वर्षीय मोहम्मद सद्दाम हुसेन र सोही ठाउँका ४५ वर्षीया कुनकुनिया खातुन रहेको सप्तरी प्रहरीले जनाएको छ ।
हुसेनको घट्नास्थलमै र खातुनलाई उपचारका लागि विराटनगरतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डिएसपी तिलक भारतीले जानकारी दिए ।
उक्त दुर्घटनामा आधा दर्जन व्यक्ति घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर भएको र उनलाई उपचारका लागि विराटनगर पठाइएको छ । बाँकीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उता, बारामा भएको मोटरसाइकल दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।
जिल्लाको पचरौता नगरपालिकास्थित हुलाकी मार्गको लंगडा चोक नजिक ना ३० प २७४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर ८ का २२ वर्षीय चालक विजय यादव र ५५ वर्षीय रामेश्वर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, लु २१ प ७९६३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक पचरौता नगरपालिका ९ का ३५ बर्षीय मञ्जय ठाकुर लोहारको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
जनकपुर टुडे बाट लिएको समाचार