भारदह । हनुमानगर कंकालिनी नगरपालिका वडा नं.१ कोशी व्यारेजस्थित एक प्राथमिक विद्यालयको क्वारेन्टाइनस्थलबाट १९ जना भारतीय नागरिक भागेपछि प्रहरीमाथि छानबिन सुरु गरिएको छ ।
उक्त क्वारेन्टाइनमा डेढ सातादेखि बसेका ७२ भारतीय नागरिकमध्ये १९ जना भागेपछि छानबिन सुरु गरिएको हो ।
एक जना प्रहरी जवान नाम नखुल्ने अनुसार बताए उनीहरुलाई प्रहरीकै सहयोगमा भारततर्फ पठाइएको हो । कोशी नदीबाट डुंगामार्फत रक्सी, लागूऔषध, गुट्खासहितका सामान लकडाउनको समयमा पनि तस्करी हुन थालेपछि प्रहरीकै अगुवाइमा केही दिनअघि सबै डुंगामा ताला लगाइएको थियो । तर सोही डुंगामार्फत प्रहरीले नै १९ जनालाई भारततर्फ पठाइएको स्रोतको भनाइ छ ।
इलाका प्रहरी कार्यालय भारदहका प्रमुख सई सागीर राइनके मिलोमतो मा उनीहरुलाई भारत पढाएको एक जना स्थानीय युवा बताउछन ।
हाल राइनलाई जिल्ला प्रहरी कार्यालय राजविराज तानिएको छ । उनको ठाउँमा अर्को सईलाई भारदह पठाइएको छ ।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले १९ जना वेपत्ता भएकै विषयमा अनुसन्धान गर्न सई राइनलाई जिल्ला बोलाइएको बताए । ‘१९ जना फरार भएको सन्दर्भमा बुझ्नलाई नै उनलाई जिल्ला बोलाइएको हो’ डीआईजी सिंहले भने, ‘हामी प्रहरीको घेराबाट कसरी १९ जना वेपत्ता भए त्यस सम्बन्धमा गहिरो तरिकाले अनुसन्धान गर्दैछौं ।’
क्वारेन्टाइनमा राखिएका ७२ जनाको निगरानी १० जना सुरक्षाकर्मीले गर्दै आएका थिए । डीआईजी सिंहले नेपाल र भारत सरकारको समझदारीअनुसार भारतीय नागरिकलाई राखिएको भन्दै उनीहरुलाई भारतीय पक्षले फिर्ता पठाउनुपर्ने बताए ।