काठमाण्डौ । सरकारले लिम्पियाधुरासहितको भूमि समेटेर तयार पारेको नक्सा पारित गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरासहितको नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए ।
लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गर्न भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रीपरिषदमा प्रस्ताव पेस गर्नुभएको थियो ।
भारतले आफ्नो नक्सामा लिम्पियाधुरा समेटेको र लिपुलेक हुँदै सडक खनेकोमा नेपालले आपत्ति जनाएको थियो । सुगौली सन्धि र अरु दस्तावेजले लिम्पियाधुरा नेपालमै पर्ने सरकारले जनाएको छ ।
नयाँ नक्सामा नेपालको संघीयताअनुसार प्रदेश र स्थानीय तहहरु समेत समेटिएको छ । ‘यो नक्सा बमोजिम नै हाम्रा निसान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्सा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने नक्सा अध्यावधिक हुनेछ ।
भारतले नोभेम्बरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नेा क्षेत्रमा देखाएको थियो । त्यसको नेपालमा चर्को विरोध मात्र भएन, संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।