काठमाडौं ।आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई प्रहरीले ‘बलपूर्वक’ अस्पताल पुर्याएको छ । राति करिव ११ बजेतिर प्रहरीले डा. केसीलाई जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिर परिसरबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको हो ।
१९औं सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै चिकित्सकहरुले अस्पताल लैजान सुझाएका थिए । तर डा. केसीले अस्पताल जान मानेका थिएनन् ।
आफूलाई अपहरणको शैलीमा अस्पताल लगिएको भन्दै डा.केसीले कुनै पनि उपचार नलिने बताएका छन् । उनले भनेका छन्, ‘माग पूरा गर्नुको साटो मलाई अपहरण गरेर ल्याउने ? म कुनै पनि उपचार, मोनिटरिङ लिनेवाला छैन ।’
नोवेल कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग राखेर २९ भदौदेखि डा. केसी जुम्लामा अनशनरत छन् ।
डा. केसीले विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने मागसमेत राखेका छन् ।