• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु

img

विराटनगर । मोरङमा माछा पाल्ने पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–४ बनसखण्डीकी ३५ वर्षीय सीता अधिकारी, उनका १३ र ९ वर्षीया छोरीहरुको मृत्यु भएको हो ।

१३ वर्षीया छोरी पबित्रा र ९ वर्षीया कृतिका पोखरीमा डुबेपछि उद्धार गर्न गएकी सीताको पनि मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

उनका अनुसार आइतबार दिउँसो माछा पाल्ने पोखरीमा सीताका दुई छोरी पसेका थिए । पोखरीको डिलमा कपडा खोलेर दुई छोरी पसेको देखिएको प्रहरीको दाबी छ । गहिरो पोखरीमा दुई छोरीहरु डुबेपछि उद्धारका लागि आमा गएकी थिइन् ।

ग्रामथान गाउँपालिका–२ का वडा अध्यक्ष बैजनाथ विश्वासका अनुसार दाजुको माछा पोखरीमा सीता चारो हाल्न गएकी थिइन् । उनीसँग दुई छोरीहरु पनि पुगेका थिए । गर्मीको समयमा कान्छी छोरी पौडी खेल्न भन्दै पोखरीमा पसिन् ।

प्रहरीका अनुसार सीता दुई छोरीसहित माइतमा बस्दै आएकी थिइन् । उनका श्रीमान नौ वर्षयता सम्पर्कविहीन छन् ।

घटनाबारे प्रहरीलाई बेलुका ६ बजे जानकारी भएको प्रहरी निरीक्षक ढकालले बताए । जानकारी पाएलगत्तै पुगेको प्रहरीले राति करिब ८ बजे शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाएको थियो ।

img

Share: