• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

६ वर्षीया बालिकाको हत्या प्रकरणमा, करिब २२ राउण्ड आँसु ग्यास प्रहार साथै गोली समेत चलाए

img

बर्दिबास । महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रमममा प्रहरी हस्तक्षेप भएको छ । अवस्था तनावग्रस्त भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै गोली समेत चलाएको छ ।

प्रहरीको गोली लागेर बर्दिबास १ का सञ्जय न्यौपाने घाइते भएका छन् भने उनलाई उपचारका लागि स्थानीय पिनाकल अस्पतालमा पुर्याइएकोमा थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको छ ।

प्रहरीको हस्तक्षेपपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिबास–ढल्केबर सडकखण्ड सुचारु भएको छ भने स्थानीयको प्रदर्शन भने जारी नै रहेको छ ।

६ वर्षीया बालिकाको हत्याको विरोधमा महोत्तरीमा तनाव भएको छ । आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् ।

बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुनको आइतबार साँझदेखि हराएकी थिइन् भने उनको शव सोमबार मध्यरात हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो । स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दावी गरेपनि प्रहरीले भने अनुसन्धानकै क्रममा रहेको बताएको छ।

आक्रोशित स्थानीयले अहिले बर्दिबासको मुख्य सडकमा बालिकाको शव राखेर ‘बलात्कारीलाई फासी दिनुपर्ने’ माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
प्रहरीले बालिकाको हत्या गरेको आरोपमा महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई पक्राउ गरेको छ । बर्दिबासमा समेत घर भएका उनको ३ तले घरमा आक्रोशित स्थानीयले आगो लगाएका छन् । आगो नियन्त्रणमा लिन बर्दिबास नगरपालिकाबाट पुगेको दमकललाई स्थानीयहरुले अवरोध गरेका छन् ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायव उपरीक्षक राजन चापागाईंले स्थानीहरुको अत्यधिक भीड रहेको र उनीहरुले आगो नियन्त्रण गर्न नदिइरहेकोले अहिलेसम्म आगो नियन्त्रणमा नआएको बताए ।
घटनास्थलमा रहेका प्रहरी नायव उपरीक्षक चापागाईंले प्रदर्शनलाई नियन्त्रण गर्न करिब २२ राउण्ड आँसु ग्यास प्रहार गरिएको जानकारी दिए ।

img

Share: