• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

शिक्षकको अपहरणपछि गोली हानी हत्या, विप्लव समूहमाथि आशंका

img

बिराटनगर । मोरङमा आज बिहान शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । प्रहरी र आफन्तले हत्यामा प्रतिबन्धित विप्लव समूहको संलग्नताको आशंका गरेका छन् । प्रहरीले पनि आफन्तको भनाइका आधारमा हत्या विप्लव समूहले नै गरेको आशंका गरेको छ । तर अनुसन्धानबाट थप पुष्टि हुने प्रहरी अधिकारीहरूले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काका अनुसार मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेका थिए । बिहान सवा ६ बजेतिर चार–पाँच जनाको संख्यामा आएको समूहले श्रेष्ठलाई घरबाटै अपहरण गरेर लगेको थियो ।

३० मिनेट टाढा जंगलमा लगेर हत्या गरेको एसपी खड्काले बताए । एकजना उच्च प्रहरी अधिकारीका अनुसार विप्लव समूहविरुद्ध सुरक्षाकर्मीलाई सूचना दिएको भन्दै श्रेष्ठको अपहरणपछि हत्या भएको पारिवारिक भनाइ छ ।

विप्लव समूहको नामबाट आफूहरुले नै हत्या गरेको पारिवारिक सदस्यलाई जानकारी गराएको अपुष्ट खबर समेत प्रहरीसम्म पुगेको छ ।

ती उच्च अधिकारीले भने,“२०–२५ दिनअघि प्रहरीले मिक्लाजुङ गाउँपालिका १ बर्खेमा विप्लव समूहविरुद्ध सर्च अपरेसन चलाएको थियो । सो क्रममा केही पक्राउसमेत परेका थिए । विप्लव समूहले शिक्षक राजेन्द्र श्रेष्ठलाई आफ्नो समूहविरुद्ध सुराकी गरेको भन्दै हत्या गरेका हुन सक्छन् । प्रारम्भीक रुपमा हेर्दा घटनामा अरुको संलग्नता हुन सक्ने सम्भावना कम छ ।”

मिक्लाजुङ गाउँपालिका १ बर्खे पहाडी इलाका हो । सो क्षेत्रमा लामो समयदेखि विप्लव समूहले आफ्ना गतिविधि गर्दै आएको सूचना प्रहरीसँग थियो । प्रहरी टोली घटनास्थल अझै पुगिसकेको छैन । स्थानीय जनप्रतिनिधिले शिक्षक श्रेष्ठको गोली हानी हत्या भएको प्रहरीलाई जानकारी गराएका थिए ।

img

Share: