जनकपुर । प्रदेश २ को प्रदेशसभा बैठक लगातार दोस्रो पटक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ ।
‘असार २३ गते दिनको १ बजे बस्ने भनिएको प्रदेशसभा बैठक असार २५ गते दिनको १ बजे बस्नेछ’, सूचनामा उल्लेख गरिएको छ ।
त्यससँगै बैठक स्थगित गरिएको सूचना सांसदहरुलाई एसएमएस पठाएर पनि जानकारी गराइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत असार १ मा आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गरेका थिए ।
बजेट पेश भएपछि सभामुख सरोज यादवले अगामी बैठक असार १५ गते दिउँसो १ बजे बस्ने बताएका थिए । तर, त्यसदिन स्थगित गरी आजका लागि सारिएको थियो ।
सांसदहरुले संसद क्षेत्र विकास कोषको रकम बढाउन गरेको मागमा सहमति जुट्न नसक्दा वैठक स्थगित गरिको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेका सांसदहरुसँग संसद विकास कोषको रकम सम्बन्धमा पटक–पटक छलफल गरे पनि सहमति जुट्न सकेको छैन् ।