• img
  • img
img img img
Categories
खेलकुद प्रदेश समाचार समाचार

नेपाल क्रिकेट संघ अध्यक्ष चन्दको राजीनामा माग

img

पोखरा । विभिन्न १६ बुँदे एजेन्डामा नेपाल क्रिकेट संघको कार्य समिति बैठक मंगलबार पोखरामा बस्ने तय भएको थियो । त्यसका लागि कार्यसमितिका १६ जना सोमबार बेलुकी नै पोखरा आइसकेका थिए ।

संघले तय गरेको एजेन्डामा पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा र संघको कार्यसम्पादन समितिको बैठकबाट भएका निर्णयहरु अनुमोदन सम्बन्ध, नेपाल टी–२० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग भएको सम्झौतालगायतका एजेन्डा समावेश थियो ।

तर, बैठकका लागि पोखरा आएको संघको केन्द्रीय नेतृत्वभित्र चुलिएको आन्तरिक विवाद भने पोखरामा छताछुल्लै भएको छ । मूल नेतृत्वसँग असन्तुष्ट ७ जना केन्द्रीय सदस्यले लिखित रुपमै अध्यक्षको माग गर्दै बैठक बहिष्कार गरे भने उनीहरुबिनै अध्यक्ष चतुरबहादुर चन्दले बैठक सुरु गरेका छन् ।

यसअघि ७ जना असन्तुष्ट केन्द्रीय सदस्यले काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष तथा कार्य सम्पादन समितिको राजीनामा माग गरे पनि मंगलबार पोखरामा लिखित नै माग गरेका हुन् ।

मंगलबार बिहान बस्ने भनिएको बैठक बेलुकी साढे ५ बजेपछिमात्रै सुरु भयो । जसमा अध्यक्षको राजीनामा माग गरेका ७ जनाबाहेक बाँकी ९ पदाधिकारी र २ जना आमन्त्रित सदस्य सहभागी छन् । बैठकमा गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजु र जिल्ला क्रिकेट संघ कास्की अध्यक्ष सञ्जयकान्त सिग्देल आमन्त्रित सदस्यका रुपमा सहभागी छन् ।

क्यानको बोर्ड औपचारिक रुपमा सुरु हुनुअगावै केन्द्रीय सदस्य ऋषिराम गौतमले अध्यक्षको राजीनामा माग गरिएको पत्र वाचन गरेर सुनाए । बोर्ड बैठकलाई सम्बोधन गरी लेखिएको राजीनामा पत्रमा केन्द्रीय सदस्यहरु दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमीरवीर पाण्डे र राष्ट्रिय खेलकुद परिषद्बाट मनोनित प्रतिनिधि छुम्बी लामा र धर्मराज गिरीले हस्ताक्षर गरेका थिए । अमीर स्वास्थ्यअवस्थाका कारण पोखरा नआए पनि हस्ताक्षर भने गरेका छन् ।

लगत्तै उनीहरु नेपाल क्रिकेटको भविष्यलाई दाउमा राख्ने काम मूल नेतृत्वबाटै भएको र सार्वजनिक रुपमै स्वीकार गरिसकेको अवस्थामा अध्यक्षले राजीनामा दिनुपर्ने माग गर्दै बैठक बहिष्कार गरेर हिँडे ।

‘अस्ति संघकै अध्यक्षज्यूले पत्रकार सम्मेलन गरेरै नेपाल टी-२० लिगमा गल्ती भएको भनेर स्वीकार गरिसकेपछि उहाँ जवाफदेही हुनुपर्छ कि पर्दैन ? एउटा व्यक्तिले गरेको गल्ती पूरै संघले किन व्यहोर्ने ?’ केन्द्रीय सदस्य छुम्बी लामाले भने, ‘आज औपचारिक रुपमै कार्य सम्पादन समिति र अध्यक्षले राजीनामा गरेर नेपाल क्रिकेटको बाटो खुला गरिदिनुहोस् भनेर लिखितमाग गरेका हौं ।’

केन्द्रीय सदस्यले छोडेर हिँडेपछि बैठक बस्नै सकेन । पोखरा लेकसाइडस्थित एल्लो प्यागोडा होटलमा बसेका अन्य पदाधिकारी बाहिरभित्र गर्दै बैठक बहिष्कार गरेर गएका टोलीको पर्खाइमा रह्यो ।

त्यतिबेलासम्म बैठकको एजेन्डामा परेका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा थुनामा राख्न माग गर्दै निवेदन दिइसकेको थियो भने विवादित सेभेन स्पोर्टसले क्यानसँगको सम्झौता पनि रद्ध गर्दै पत्र पठाइसकेको थियो ।

मूल नेतृत्वले पर्खिरहे पनि बहिष्कार टोलीले भने आकस्मिक पत्रकार सम्मेलन बोलायो । सम्मेलनमा उनीहरुले बहुमतको दम्भ देखाएर गैरकानुनी काम भएको र त्यसका लागि मार्ग प्रशस्त गर्नुपर्ने भन्दै आफूहरुले राजीनामा माग गरेको सुनाए ।

‘यो अहिलेको श्रृंखला होइन । नेपाल टि–२० लिगको बेला सतहमा आएमात्रै हो । सुरुबाटै हामीलाई बहुमतको दम्भ देखाएर पेल्ने काम भइरह्यो,’ क्यान केन्द्रीय सदस्य ऋषिराम गौतमले भने, ‘पटकपटक यसरी नआउँभन्दा पनि नेतृत्वले हाम्रो कुरै सुनेन । जसका कारण आज नेपाली क्रिकेट नै विश्वभर बदनाम हुन पुग्यो ।’

img

Share: