• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

एमसीसी परियोजना नेपालकै प्राथमिकतामा छ : प्रधानमन्त्री

img

काठमाडौं । नेपालमा एमसीसी परियोजना कार्यान्वयन सुरु भएको खुशीयालीमा नेपाल भ्रमणमा आएकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस पिटर्सन अलब्राइटले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छिन् । बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गर्दै उनले ५० करोड अमेरिकी डलरको अनुदानको एमसीसी परियोजनाले नेपालको विकासमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

स्रोतका अनुसार उनले  यस्तो महत्वपूर्ण परियोजनालाई कार्यान्वयन तहमा लैजान सकेकोमा नेपाललाई बधाई पनि दिइन् र बुधबार एमीसीसीका तर्फबाट आयोजित भोजमा निम्ता पनि दिइन् ।

एमसीसी परियोजना कार्यान्वयन सुरु भएको खुशीयालीमा एमसीसीकै अग्रसरतामा एमसीए नेपालले बुधबार होटल याक एन्ड यतिमा रात्रीभोज आयोजना गरेको छ । उक्त कार्यक्तममा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रम छ । जहाँ उपप्रधानमन्त्री र मन्त्रीहरुसहित नेपाल सरकारका सचिव तथा विशिष्ट अधिकारी पनि सामेल हुनेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजनामार्फत अगाडि बढेको आयोजना नेपालले प्राथमिकता दिएको परियोजनाभित्र परेको बताएका छन् ।

परियोजना कार्यान्वयनको सेलिब्रेसनका लागि एमसीए नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यो परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने समेत बताए ।

परियोजनामार्फत सडक र ऊर्जा सम्बन्धी पूर्वाधार बन्ने भन्दै उनले प्रसारणलाइनबाट गुणस्तरीय ऊर्जा उपलब्ध गराउन सम्भव हुने बताए ।

साथै विद्युत निर्यातमा समेत सघाउ पुग्ने उनको भनाइ छ । नेपाल सन् २०२६ देखि विकाससिल मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको र सन् २०३० मा मध्यम आय भएको मुलुकमा स्तरोन्नतिको चरणमा रहेको भन्दै उनले यस अवधिका अमेरिकाबाट थप सहयोगको अपेक्षा गरिएको समेत उनले बताए ।

एमसीसी सम्झौता भएको ३० अगष्टको दिन नेपाल–अमेरिका सम्बन्धको महत्वपूर्ण मिति भएको भन्दै उनले भने, ‘यो परियोजना नेपाल र अमेरिकाको बढ्दो आर्थिक साझेदारीको प्रतिबिम्ब पनि हो ।’

कार्यक्रममा अर्थमन्त्री डा‍. प्रकाशशरण महतले एससीसी परियाजना नेपालका लागि महत्वपूर्ण रहेको बताए । यसमा एमसीसीको बाहेक नेपालले १९ करोड ७० लाख अमेरिकी डलर आफ्नो स्रोतबाट लगानी गर्ने भएकाले समेत यो नेपालका लागि महत्वपूर्ण रहेको उनले बताए ।

आयोजना समयमै सम्पन्न गर्न पूर्ण क्षमताले काम गर्ने भन्दै उनले ठेक्का प्रक्रियामा आएको बढी मूल्यलाई एमसीए नेपालले समाधान गर्ने समेत बताए ।

एमसीसीकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) एलिस पिटर्सन अलब्राइटले यसबीचमा आफूले सरोकारवाला सबैसँग भेट र छलफल गरेको र त्यसबाट सबैको बलियो प्रतिवद्धता प्राप्त गरेको बताइन् ।

नेपालले प्राथमिकता प्राप्त क्षेत्रमा लगानी भएको भन्दै उनले यसबाट २ करोड २० नेपाली जनता लाभान्वित हुने समेत बताइन् । परियोजना ७५ वर्षको सम्बन्धको कोशढुंगा भएको उनको दाबी छ ।

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले नेपालको समृद्धिको आफ्नै किसिमको यात्रामा सहयोग गर्नु अमेरिकाका लागि खुसीको कुरा भएको बताए ।

img

Share: