• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

आज ग्याल्पो ल्होछार पर्व मनाइँदै, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

img

काठमाडौं । आज ग्याल्पो ल्होछार पर्व मनाइँदै छ ।

शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले नयाँ वर्षको रुपमा विभिन्न कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होछार मनाउँदैछन् ।

भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् बताउँछन् ।

ल्होछार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।

राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होछारको अवसरमा शुभकामना दिएका छन् ।

राष्ट्रपति पौडेलले शुभकामना दिंदै ग्याल्पो ल्होछारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।

यस्तै, उपराष्ट्रपति यादवले शुभकामना दिंदै  ग्याल्पो ल्होछार-२१५१ले नेपालीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ ।

आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ ।

ग्याल्पो ल्होछारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

img

Share: