नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा जनकपुर बोल्ट्सको विजयी प्रदर्शन प्रति जसपा नेपालले बधाई तथा शुभकामना व्यक्त गर्दै सामाजिक सद्भाव, भाइचारा, र एकताको महत्त्वलाई पुनः पुष्टि गरेको छ।
जसपा नेपालले आज एक विज्ञप्ति जारी गरी सम्पूर्ण जनकपुरका टिमलाई बधाई दिएको हो।
विज्ञप्तिमा काठमाडौँको कीर्तिपुर खेलमैदानमा एनपीएल खेलिरहेको क्रममा केही व्यक्ति तथा समूहद्वारा मधेसी समुदायलाई लक्षित लक्षित गर्दै अश्लिल शब्दहरूको प्रयोग ,दुव्र्यवहार भएको घटनालाई जसपा नेपालले गम्भीर रूपमा लिएको छ। पार्टीले यो कार्यलाई मधेसी समुदायप्रति अपमानित गर्ने, सम्प्रदायिक सद्भाव र राष्ट्रिय एकतामा खलल पुर्याउने, तथा जातीय वैमनस्य र घृणा फैलाउने प्रयासको रूपमा लिएको छ।
जसपा नेपालले यस घटनाको घोर निन्दा र भर्त्सना गर्दै सरकारलाई यस्ता घृणित गतिविधिमा संलग्न व्यक्तिहरू वा समूहहरूविरुद्ध यथाशिघ्र कानूनी कारबाही गर्न आह्वान गरेको छ। साथै, यस्ता घटनामा सरकारको मौनता अस्वीकार्य रहेको उल्लेख गर्दै, दोषीमाथि कारबाही गर्न दबाब दिने चेतावनी सहितको माग गरेको छ।
जारी विज्ञप्तिमा यस प्रकारका घटनाहरूले खेलजगतमा सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्न आवश्यक रहेको महत्त्वलाई झनै प्रस्ट बनाएको छ। समाजिक सद्भाव लाई भड्काउनु हुँदैन विज्ञप्तिले प्रष्ट गरेको छ।