न्युज 1नेपाल संवाददाता राजविराज, ११ पुस ।
उच्च अदालत राजविराज बेन्च-जनकपुरका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले कानुनमा ज्येष्ठ नागरिकका लागि विशेष व्यवस्था रहेको बताउनुभयो । विहिवार राजबिराजमा ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरी र पूर्व कर्मचारी सेवा परिषद नेपाल द्वारा चौथो ज्येष्ठ नागरिक राष्ट्रिय दिवसको अवसरमा आयोजित विचार गोष्ठी तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो बताउनु भएको हो।
कार्यक्रममा बोल्दै मुख्य न्यायाधीश ज्ञावलीले ज्येष्ठ नागरिकका लागि कानूनले विशेष एवं सकारात्मक व्यवस्था गरिएपनि सर्वसाधारणलाई चेतनाको अभावले जेष्ठ नागरिकले प्रभावकारी सेवा लिन नसकेको बताए ।
‘आफन्त एवं अन्यद्वारा ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई अरुलाई भन्दा ३० प्रतिशत बढी कानूनले दण्डित गर्ने व्यवस्था गरेको छ, ‘बोल्दै मुख्य न्यायाधीश ज्ञावलीले भने,’ सन्तानले बाबुआमालाई गर्नुपर्ने व्यवहार गरेन भने अरुलाई भन्दा थप सजायको व्यवस्था कानूनमा छ र साथै मुद्दाको सुनुवाइ गर्ने क्रममा ज्येष्ठ नागरिकलाई प्राथमिकता राख्ने तथा अन्यत्रबाट कानूनी सेवा लिन असक्षमहरुका लागि सरकारी प्रतिनिधि राखेर सेवा दिने व्यवस्था कानूनमा व्यवस्था छ।’
उनले ज्येष्ठ नागरिकको हकअधिकारलाई मौलिक हकमा राखी नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको हक प्रदान गरेको बताए ।
मुख्य न्यायाधीश ज्ञावलीले समाजमा राम्रो शिक्षा र संस्कारको अभावले ज्येष्ठ नागरिकहरू जसबाट संरक्षित हुनुपर्ने हो उहीबाट प्रताडित हुनु परिरहेको बताए ।
ज्येष्ठ नागरिकलाई आफ्ना सन्ततिले हेर्ने दृष्टिकोणमा अझै सकारात्मक परिवर्तन आउन नसकेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि मुख्य न्यायाधीश ज्ञावलीले ज्येष्ठ नागरिकको स्याहारमा राम्रो गर्ने छोरा बुहारीलाई सम्मान गरि प्रेरित गर्न संदेश प्रहार गर्न आवश्यक नीति ल्याउनु पर्नेमा जोड दिए ।
‘हाम्रो सोचमा परिवर्तन आउनु आवश्यक छ,ज्येष्ठ नागरिक मुलुकको भार बन्नु भएन र सोच्नु पनि भएन, ज्येष्ठ नागरिक भार होइनन् हाम्रो सम्पत्ति हो, गहना हो,देशको सम्पदा र जीउँदो इतिहास हो, किनकि एकदिन हामी पनि जेष्ठ नागरिक हुनेछौं। ।’
ज्येष्ठ नागरिक देश र समाजको मार्गदर्शक रहेकोले उनीहरूको सम्मान गर्नु इज्जत गर्नु बुढेसकालमा स्याहारसुसार गर्नु हाम्रो संस्कृति भएको बताउनुभयो।
ज्येष्ठ नगरिक जिल्ला संघ सप्तरीका अध्यक्ष रामनरेश सिंहको अध्यक्षता एवं जेष्ठ नागरिक संघ जिल्ला सप्तरीका सचिव वरिष्ठ पत्रकार बैजनाथ झाले मंच सञ्चालन गरिएको कार्यक्रममा सेवा निबृत्त राष्ट्रसेवक कर्मचारी संघ सप्तरीका अध्यक्ष प्रयागलाल यादव,सामुदायिक सेवा केन्द्र सप्तरीका पूर्व अध्यक्ष हित नारायण लाल दास, नेपाल राष्ट्रिय मरवाडी महिला परिषदकी उपाध्यक्ष मञ्जु सारदा,नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य मनोज कुमार माझी, सम्मानित व्यक्ति नित्यनन्द देव, ज्येष्ठ नागरिक सत्यनारायण देव लगायतकाले आआफ्ना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य पूर्व कर्मचारी सेवा परिषद नेपालका अध्यक्ष दिगम्वर यादवले राखेका थिए ।
आयोजित कार्यक्रमको अवसरमा ५ जना ज्येष्ठ नागरिकलाई सम्मान पनि गरिएको थियो ।