काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा जिल्ला अदालतमा उपस्थित भएका रास्वपा सभापति रवि लामिछानेको आज बहस स्थगित गरिएको छ। आइतबार बिहानै अदालत उपस्थित भएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा पेसी तोकिएको लामिछानेको बयान सकेर अदालतमा बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ पुगेका थिए । तर सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आज बहस गर्न सम्भव छैन इजलासमा राखे ।
जिल्ला न्यायाधिवक्ता चन्द्र सञ्जेलसहितको टोलीले लामिछानेको बयान आज अध्ययन गर्ने र सोमबारमात्र आफूहरूले थुनछेक बहस गर्ने बताएपछि न्यायाधीशले लामिछानेका कानुन व्यवसायीसँग पनि सल्लाह गरेका थिए ।
बहस नहुने भएपछि लामिछानेका तर्फबाट बहस गर्न पुगेका वरिष्ठ अधिवक्ताहरू श्रेष्ठ र पन्तले आफूहरूको जिम्मा वा परिवारको जिम्मामा रिहाइ गर्न प्रस्ताव राखे । तर न्यायाधीशले आफू विचार गरेर केही आदेश गर्ने निर्णय सुनाए ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा लामिछाने विरुद्ध अभियोग पत्र दायर भएको छ। गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीले गरिएको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरेको छ।
अभियोग पत्रमा उल्लेख भए अनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिट मार्फत विदेश पठाएको फेला भेटिएको छ । २०२१ र २०२२ मा सो रकम रविले विदेश पठाइएको प्रहरीको निष्कर्ष छ ।