भुपदेव माली,
राजविराज, ०८ माघ ।
प्रेस चौतारी नेपाल शाखा सप्तरीले माघ २५ गते अधिवेशन गर्ने निर्णय गरिएको छ । चौतारी सप्तरीले मङ्गलबार भारदहमा गरिएको बैठक बाट माघ २५ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको हो।
सम्पन्न बैठकमा गत नेपाल पत्रकार महासङ्घको निर्वाचनमा प्रेस चौतारीका पत्रकारहरूलाई सहयोग गर्ने सम्पूर्ण राजनीतिकर्मीहरूलाई तथा पत्रकारहरुलाई धन्यवाद दिँदै एवं चौतारीमा पौष २६ गते औपचारिक रूपमा प्रवेश गरेका चौतारीको बैठकमा पहिलो उपस्थिति दिएको नवप्रवेशी पत्रकार कृष्ण कुमार मण्डललाई केन्द्रीय सदस्य खगेन्द्र कार्कीले दोसल्ला ओढाएर सम्मान पश्चात् नेपाल पत्रकार महासंघ सप्तरी शाखाको निर्वाचनको समिक्षा सम्बन्धमा गहनतम छलफल, चौतारीका नयाँ सदस्यता प्रदान र सदस्यता नविकरणको सम्बन्धमा, अधिवेशन माघ महिनाको २५ गते भित्र सम्पन्न गर्न आवश्यक रणनीति तहत विभिन्न उपसमितिको गठन गरी कार्यभारको जिम्मेवारी आदिमा आधारित रहयो। सोको लागि कृष्ण मण्डलको संयोजकत्वमा तीन सदस्य आर्थिक समिति र पिन्टु कुमार यादवको संयोजकत्वमा तीन सदस्य व्यवस्थापन समिति गठन गरिएका छन्।
अधिवेशनका लागि शाखाका सदस्यहरूलाई सक्रिय सहभागी गराउने उपायहरू माथि छलफल, कार्यसम्पादनमा आवश्यक सुधार,संगठनलाई थप सुदृढ गर्न एवं चौतारीसँग आबद्ध पत्रकारहरूको हकहितमा प्रभावकारी पाइला बढाउने र शाखाका गतिविधिहरूलाई आगामी कार्यकालमा व्यवस्थित बनाउने बारेमा गहनतम छलफल गरिएको थियो।
चौतारी शाखा सप्तरीका अध्यक्ष डम्बर राईको अध्यक्षता एवं प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य खगेन्द्र कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा
संगठनका वरिष्ठ सदस्यहरूलाई यसै बैठकबाट अधिवेशनका लागि लागिपर्ने आह्वान समेत गरिएको छ।
अधिवेशनका लागि जिल्लाका राजबिराजमा गर्ने र सोको लागि आवश्यक व्यवस्था मिलाउने बारे अध्यक्ष डम्बर राई एवं केन्द्रीय सदस्य खगेन्द्र कार्कीलाई जिम्मेवारी सुम्पिए।
बैठकले माघ २५ गते अधिवेशन सम्पन्न गर्न सबै तयारीलाई प्राथमिकता दिने निर्णय गर्दै प्रेस चौतारी सप्तरीलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको भारदहबजार स्थित रोयल सेकेन्डरी स्कुलमा सम्पन्न भएको बैठकमा प्रेस चौतारीका कोषाध्यक्ष भूपदेव माली, सचिव शिवप्रसाद आचार्य, सदस्य नवीन कुमार यादव, रवि शर्मा, पिन्टु यादव, कृष्णकुमार मण्डल, उत्तम आचार्य लगायतको उपस्थिति रहेको थियो।