न्युज 1नेपाल संवाददाता
माघ१४ गते, रूपन्देही।
जसपा नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियन नेपालको राष्ट्रिय अधिवेशन आगामी चैत ७ र ८ गते लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको रोहिनी गाउँपालिका–३, भकदैमा हुने निश्चित सँगै स्थल निरीक्षण गरिएका छन्। महाधिवेशन आयोजक समितिका संयोजक रमेश कुमार यादव सहितका टोलीले अधिवेशन कार्यक्रम स्थलको निरीक्षण गरिएका हुन्।
निरीक्षण गर्ने क्रममा जसपा नेपालका महासचिव रामकुमार शर्मा, केन्द्रीय सदस्य तथा युवा विद्यार्थी तथा खेलकुद विभाग प्रमुख विदेश्वर यादव (विक्की), समाजवादी विद्यार्थी युनियन नेपालको राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक रमेश यादव, सदस्य सचिव मनिष यादव, जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादव, रोहिनी गाउँपालिकाका अध्यक्ष विद्या यादव, लुम्बिनी प्रदेशका समाजवादी विद्यार्थी युनियन अध्यक्ष राहुल लगायतका नेताहरूको उपस्थिति थियो।
महासचिव रामकुमार शर्माले लुम्बिनी क्षेत्र ऐतिहासिक महत्त्व बोकेको स्थान भएकाले यस अधिवेशनले ऐतिहासिक सन्देश दिने विश्वास व्यक्त गरे। रोहिनी गाउँपालिका अध्यक्ष विद्या यादवले अधिवेशन गर्न पाएकोमा आफूलाई गौरवान्वित ठानेको बताउँदै, उनले कार्यक्रमलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको औंल्याए।
जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादवले यसअघि जसपाका सबै कार्यक्रमहरू सफल र भव्यताका साथ सम्पन्न भएकाले विद्यार्थीको राष्ट्रिय अधिवेशन पनि अत्यन्तै सफल हुने विश्वास व्यक्त गरे। कार्यक्रम स्थलको निरीक्षण गर्न आएका सबै नेताहरूलाई धन्यवाद दिँदै उनले राष्ट्रिय अधिवेशनका लागि अग्रिम शुभकामना दिए।
उनले ‘राष्ट्रिय अधिवेशनमा विद्यार्थीहरूको व्यापक सहभागिता रहने अपेक्षा’ गर्दै ‘यसले पार्टीका युवा तथा विद्यार्थी नेताहरूलाई एकत्रित गर्ने मात्र नभई लुम्बिनीको ऐतिहासिक महत्त्वलाई उजागर गर्दै समाजवादी आन्दोलनलाई थप सशक्त बनाउने अवसर प्रदान गर्ने’बताए।