भूपदेव माली
माघ २७ गते, सप्तरी।
नेपाल मलाह कल्याण सङ्घले आफ्नो माग लिएर सुरु गरेको आवरण अनसन आज तेस्रो दिनमा पुगेको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा वडा नं १ भारदह स्थित कोशी ब्यारेजमा मालाह संघले २५ गतेबाट सुरु गरिएको आवरण अनसन आज तेस्रो दिनमा पुगेको हो।
आइतबार दिउसो ०१:०० बजेबाट ललिता देवी मुखियाको नेतृत्वमा रेखा देवी मुखिया, शोभादेवी मुखिया, मञ्जु देवी मुखिया, कोशीला देवी मुखिया, रुन्ती देवी मुखिया, तोशीला देवी मुखिया ,रामकुमारी देवी मुखिया, सुनिता देवी मुखिया र नीलम देवी मुखिया गरी ११ जना महिलाहरू अनसनमा बसेकी छन्।
‘आज हाम्रो अनसन तेस्रो दिन पुग्न लागे पनि सरकारले कुनै वास्ता नगरेको’ भन्दै ‘यदि हाम्रो २० बुन्दे मागहरू सरकारले सम्बोधन नगरे हामी अनसन नतोड्ने’ नेपाल मलाह कल्याण संघका केन्द्रीय अध्यक्ष नारायण मुखियाले बताए।
‘हाम्रो जायज मागहरू लाई सरकारले सम्बोधन गर्नुपर्दछ अन्यथा अनसनमा बसेकाहरुको ज्यानमा कुनै नराम्रो असर परे यसको जवाफदेही सरकारले लिनुपर्ने’ आजको अनसनमा बसेकी महिलाहरूको नेतृत्व गरेकी ललिता देवी मुखियाले भनिन्।
परापूर्वदेखि माछा मार्ने, डुङ्गा खियाउने मसेतको कार्य गर्न दिई सम्पूर्ण सार्वजनिक पोखरी, ताल तलैया ,नदी, दह, दहतर ,बहत्तर, तारघाट र नदीमा आएको दौरा काठ समेतका जलचरको ठेक्का अन्य पैसा र पहुँचवालालाई हुने गरेको न्यायोचित होइन, यो सम्पूर्ण अधिकार मलाह जातिका मानिसलाई हुनुपर्ने भन्दै हामी अनसनमा बसेका हौ।’मलाह सङ्घका प्रवक्ता मधुकान्त मुखियाले बताए।