न्युज 1नेपाल
जेठ ६ गते,भैरहवा —सुनौली – बेलहिया सिमानाकाबाट भारतको कर्नाटक राज्यमा गैरकानुनी रूपमा लैजाँदै गरेको १९ जना नेपाली नाबालकहरूलाई उद्धार गरिएको छ ।
अभिभावक बिना भारतको कर्नाटक राज्यको विभिन्न बौद्ध गुम्बामा अध्ययन गराउने भनेर लगिएका ती नाबालकलाई महिला तथा बालबालिका बेचबिखन तथा ओसार पसारविरुद्ध भारतमा क्रियाशील संस्था ‘किन इन्डिया’ र भारतीय सुरक्षा निकाय एसएसबीको संयुक्त पहलमा उद्धार गरिएको हो।
भारतको दिल्लीस्थित किन इन्डियाका निर्देशक नविन जोशीले केही नेपाली बालकलाई पढाउने भनेर गैरकानुनी रुपमा बसबाट भारततर्फ लैजाँदै गरिएको जानकारी प्राप्त हुनासाथ तत्कालै भारतीय सुरक्षा निकाय एसएसबीसँग सहकार्य गरी उनीहरुको उद्धार गरिएको जानकारी दिए।‘भारतमा रहेका विभिन्न बौद्ध गुम्बामा पढाउने भनेर नेपाली बालकलाई गैरकानुनी रुपमा भारतमा ल्याउने गरिएका घटना यसभन्दा पहिला पनि कयौ पटक भैसकेका छन्,’ ‘जोशीले भने, ‘त्यस्ता नेपाली बालकलाई यसभन्दा अगाडि पनि कैयौँ पटक प्रताडित गरिएको अवस्थामा उद्धार गरेका छौं ।’
जोशीका अनुसार, यस प्रकारका कतिपय घटनामा गुम्बामा बालकहरुलाई प्रताडित गरिने, अभिभावकसँग सम्पर्क हुन नदिने, बालकलाई माग्न तथा सहयोग जुटाउने कार्यमा लगाइने र गुम्बामा दिइएको यातनाका कारण नेपाली बालकले आत्महत्यासमेत गर्ने गरेका छन् ।