न्युज 1नेपाल
जेठ ६ गते, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेशको माटोमा विशेष विज्ञ एवं प्रतिभावान व्यक्तित्वहरु भएको बताएका छन् ।
मुख्यमन्त्रीको कार्यालय जनकपुरधाममा तुर्कमिनिस्तानमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा कांस्य पदक जितेका जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई सम्मान गर्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् ।
सम्मान गर्ने क्रममा उनले मधेशको माटोमा प्रस्फुटन भएका अनेकन यस्ता प्रतिभाको पहिचान, संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताए। ‘मधेशको भूमिमा असंख्य
हिरा छन्, तर तिनको पहिचान हुन बाँकी छ । आशिषजस्ता विद्यार्थीहरू केवल प्रदेशकै नभई समग्र राष्ट्रका लागि प्रेरणा हुन्’, मुख्यमन्त्री सिंहले भने ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले खेलाडी मिश्रलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका छन्। ओलम्पियाडमा कांस्य पदक प्राप्त गर्ने पहिलो नेपालीका रूपमा मिश्रले इतिहास रचेको उल्लेख गर्दै उल्लेख गरे ।
गत अप्रिल २१ देखि २६ तारिखसम्म तुर्कमिनिस्तानको शिक्षा मन्त्रालयको आयोजनामा आयोजित प्रतियोगितामा ३० भन्दा बढी राष्ट्रका विद्यार्थी सहभागी थिए । नेपालबाट ६ जना विद्यार्थीले सहभागिता जनाएका थिए, जसमध्ये एउटा मिश्र पनि थिए । सहभागीहरूमध्ये जनकपुरधामका आशिष मिश्रले व्यक्तिगत तथा समूहगत प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जितेका हुन् ।