सप्तरीका हनुमाननगर कंकालिनी नगरपालिकाका कृषकहरू किसान कार्ड लिने कार्यमा व्यस्त छन्। यतिबेला किसान कार्डका लागी नामावली संकलन गर्ने तथा नामावली सङ्कलन भइसकेका कृषकहरूको कार्ड वितरण कार्यमा नगरका कृषि शाखाद्वारा प्रत्येक वार्डका मुख्यमुख्य स्थानहरूमा कर्मचारी खटाएका छन्। नगरका कतिपय कृषकहरूले किसान कार्ड प्राप्त गरिसकेका छन् भने धेरैले किसान कार्डका लागि फर्महरु भर्दै गरेका छन्। मकैको बाली भित्र्याउने बेलामा यो किसान कार्ड भर्ने कार्यमा आफ्नो कार्य व्यस्तता छाडेर पनि व्यस्त छन्।
किसान कार्ड प्राप्त गरिसकेपछि मल- बिउहरु सहज तरिकाले उपलब्ध हुने आसमा नगरका कृषकहरूले आफ्ना सारा कार्यहरू थप राखी किसान कार्ड बनाउने तिर व्यस्त देखिन्छन्। किनभने यस नगरका सर्वसाधारण कृषकहरूकोभन्दा सबल कृषकहरूले मात्र चाहिएको समयमा पर्याप्त मल बिउहरू प्राप्त गर्ने परिपाटीले गर्दा आजित छन्। त्यसैले कृषकहरूले किसान कार्ड प्राप्त भइसकेपछि समयमा बिउ मल पाउने उद्देश्यका साथ धमाधम किसान कार्ड बनाउने तिर उन्मुख छन्। यद्यपि यस नगरमा बर्सातको याममा पानी पस्छन् अर्कै टोलमा भने राहत अनुदान प्राप्त गर्छन् अर्कै टोलका मानिसहरुले, अर्थात् जस टोलका मानिसहरू बलियो छन् ,जहाँ बोल्नेहरू छन् राहतका सुविधाहरु तथा अन्य सरकारी अनुदान -सुविधाहरु त्यहाँका मानिसहरूले मात्र प्राप्त गर्ने गरेको परिपाटी रहेको असंख्य उदाहरणहरू छन्। यस अर्थमा यति बेला सर्वसाधारण कृषकहरूले किसान कार्डको लागि आफ्ना अमूल्य समयहरू फालेर पनि व्यस्त रहेको हुँदा यी निमुखा किसानहरुले भविष्यमा बिउ-मल सहज तरिकाले प्राप्त गर्छन् वा गर्दैनन् भन्ने प्रश्न यथावतै रहेको देखिन्छ।
यदि किसान कार्ड भविष्यमा सार्थक हुन गयो भने सम्पूर्ण कृषकहरुले समयमा अपेक्षाकृत मल- बिउ पाउनु पर्दछ। यसतिर सम्बन्धित निकायले न्यायिक सक्रियता देखाउनु आवश्यक छ। हरेक कृषकले समयमा मल- बिउ प्राप्त गर्न सक्नुपर्छ।