न्युज 1नेपाल
काठमाडौँ —फुटबल खेलका विश्वव्यापी सुपरस्टार क्रिस्टियानो रोनाल्डो ई-स्पोर्ट्स् विश्वकप २०२५ को ग्लोबल एम्बासडर बनेका छन् । उनले शुक्रबार यो सम्बन्धमा सामाजिक सञ्जाल प्लाटफर्म एक्समा पोस्ट गर्दै ई-स्पोर्टसमा आबद्ध हुन पाउँदा उत्साहित भएको ठानेका छन् ।
क्रिस्टियानो ई-स्पोर्ट्स् विश्वकपका ग्लोबलका एम्बासडर हुने घोषणा गत वर्ष साउदी अरबको रियादमै आयोजित ई-स्पोर्ट्स्् विश्वकप समापन समारोहका बेलामा गरिएको थियो । त्यहाँ उनी परम्परागत साउदी पोशाकमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो र अन्य विशिष्ट पाहुनाको साथमा मञ्चासिन थिए ।
पोर्चुगल तथा साउदी अरबको क्लब अल-नासेरबाट व्यावसायिक फुटबल खेलिरहेका ४० वर्षीय रोनाल्डोले शुक्रबार सोही घोषणाको पुष्टि गरेपछि ई-स्पोर्ट्स् प्रेमीहरू हर्षित बनेका छन् । रोनाल्डोले एक्स
फेसबुक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालहरूमा लेखेका छन्, ‘ग्लोबल एम्बासडरका रूपमा ई-स्पोर्ट्स विश्वकपसँग जोडिन पाउँदा म गौरवान्वित छु, यसमा म ई-स्पोर्ट्सका ती खेलाडीहरूसँगै उभिनेछु जसले आगामी पुस्तालाई प्रेरित गर्नेछन् ।’
यस पटकको ई-स्पोर्ट्स विश्वकप फेरि रियादमै आयोजना हुने भएको छ । यो प्रतियोगिता जुलाई ७ देखि अगस्ट २४ सम्म चल्नेछ । यसमा विभिन्न २१ शीर्षकका २५ वटा खेलहरू हुनेछन् । यसमा लिग अफ लेजेन्ड्स, अनर अफ किङ्स, फेटल फ्युरी, पबजी जस्ता चर्चित खेल समावेश गरिनेछ । पहिलोपटक चेस पनि समावेश हुँदै छ ।
पहिलोपटक चेस पनि समावेश हुँदै छ । प्रतियोगितामा २ सयभन्दा बढी क्लबका २ हजार खेलाडीहरू भाग लिने अनुमान गरिएको छ।
प्रतियोगिताको कुल पुरस्कार राशी ७० मिलियन अमेरिकी डलर हुनेछ । यो ई-स्पोर्ट्स इतिहासमै अहिलेसम्मको सबैभन्दा ठूलो पुरस्कार राशी हो । यस विश्वकपमा भाग लिने खुड्किलोको रूपमा एसिया क्षेत्रको छनोट खेलहरू आगामी साता आयोजना हुँदैछन् । त्यसमा कम्तीमा दुई नेपाली टिमले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।
फुटबल र खेल जगतमा चर्चित रोनाल्डोको सहभागितालाई परम्परागत खेलकुद र डिजिटल गेमिङबीचको दूरी घटाउने रणनीतिक कदमको रूपमा हेरिएको छ । उनको अन्तर्राष्ट्रिय प्रभावका कारणप्रतियोगिताको लोकप्रियता, दर्शक संख्या र प्रायोजन उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ । यसले ई-स्पोर्ट्सलाई क्रमशः मुलधारको मनोरञ्जन र खेल क्षेत्रको रूपमा थप स्वीकार्य बनऔन सघाउने आयोजकहरूको अनुमान छ ।