भूपदेव माली
भदौ २१, सप्तरी।सप्तरीको विभिन्न शिवालयहरूमा अनन्त चतुर्दशीको अवसरमा भव्य मेला सम्पन्न भएको छ।
कञ्चनरूप नपाका बालुवा स्थित भजनेश्वर महादेव, शम्भुनाथ नपाका शम्भुनाथ महादेव मन्दिर, महादेवा गापाका महादेव मन्दिर, राजविराजको शिव मन्दिर लगायतका शिवालयहरूमा शनिबार अनन्त चतुर्दशी मेला सम्पन्न भएको हो।
यस दिन शिवलिङ्गमा जल चढाउने परम्परा अनुरूप कतिपय श्रद्धालुहरूले कोशीबाट कांवरमा जल ल्याई चढाउने गरेका थिए भने कतिपयले नजिकको तालाबबाट जल ल्याई शिवलिङ्गमा जलाभिषेक एवं पूजा अर्चना गर्न विभिन्न शिवालयहरुमा पुगेका थिए।
तराई मधेशमा आजको दिन विभिन्न शिवालयहरूमा पूजा अर्चना गर्ने भक्तजनहरूको भीडसँगै गाउँ बस्तीहरूमा अनन्त भगवानको मूर्ति बनाएर सोको पूजा अर्चना गर्ने परम्परा पनि रहि आएको छ। अनन्त भगवानको मूर्ति बनाउने स्थलमा हिजो राति माटोद्वारा बनाएको मूर्तिमा प्राण प्रतिष्ठा दिएको थियो भने आज विधिवत पूजा अर्चना तथा भव्य मेलाहरूको आयोजन हुने चलन रहिआएको छ । आजको दिन भगवान अनन्तको पूजा अर्चना गर्दै हातमा बाँधिने धागोबाट बनिएको अनन्तको पूजा गरी दाहिने हातमा बाँधिने परम्परा रहेको छ।
स्थापित माटोको मुर्तिलाई भोलिपल्ट नदी अथवा ताल, पोखरीमा सेलाउने छ।