भूपदेव माली
भदौ २२, सप्तरी।
भारदहमा सहिद रामकृष्ण राउत स्मृति दिवस एवं छात्रवृत्ति पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ।
सप्तरीका प्रसिद्ध शक्ति पीठ कंकालिनी भगवती मन्दिरको सभा कक्षमा सहिद रामकृष्ण राउत प्रतिष्ठानको आयोजनामा तेस्रो मधेश आन्दोलनको क्रममा सहादत प्राप्त गरेका रामकृष्ण राउतको श्रद्धाञ्जली अर्पण तथा एस पी परीक्षामा उत्तीर्ण छात्र छात्रालाई प्रोत्साहन स्वरूप छात्रवृत्ति पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो। 
कार्यक्रमको अध्यक्षता सहिद परिवारसंग आवध्द पत्रकार धर्मपाल राउतले गरेका थिए भने प्रमुख अतिथिको रुपमा जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमन रहेका थिए ।
राजेश झाले उद्घोष गरिएको कार्यक्रममा हनुमाननगर कंकालिनी नपा वडा नं १ का वडाध्यक्ष सुरेन्द्र मण्डल, जसपाका स्थानीय नेता जय सुन्दरी खिडहरी यादव ,जसपा नेपालका प्रदेश कमिटी सदस्य सुरेन्द्र यादव, जसप्पा नेपालका केन्द्रीय सदस्य शम्भु झा, जसपा नेपालका सचिव एवं पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह लगायतकाले श्रद्धाञ्जली मन्तव्य राखेका थिए।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सुमनले- ” यदि मधेश आन्दोलन नभएको भए देश संघीयतामा गए पनि मधेसीहरूको अधिकार सुनिश्चित हुने थिएन, आज जे जति अधिकारहरू संविधानमा सुनिश्चित गरिएको छ ती सबै सहादत दिएकाहरूको परिणाम हो।” बताउनुभयो। उनले -“उपलब्ध अधिकारहरूलाई कायम राख्न एवं थप अधिकारका लागि लडीरहन जसपा नेपाल सधैँ लागि परेको “बताउँदै उनले “मधेसी जनता सधैँ खसवादी सरकारको षड्यन्त्रको सिकार हुँदै आएका छन् । हालसालै सरकारले ल्याएको भूमि विधेयक ‘मधेसीलाई मधेसमै अल्पमत पार्ने’ षड्यन्त्रहरु हो, यसको विरोध हामी सबैले गर्नैपर्छ। ” बताउनुभयो।
यस्तै कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य शम्भु झाले – “कुनै बेला यही भारदह मधेश आन्दोलनको केन्द्रविन्दु भएर समस्त मधेशका जनतामा आन्दोलनको जुनुन ल्याएको थियो, जसको परिणाम मधेसी आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान, आरक्षणको व्यवस्था आदि पाएको” बताउँदै “थप अधिकार सुनिश्चित गर्नका लागि अझै संघर्ष गर्दै जाने भएकोले जसपा नेपाललाई साथ दिने अपरिहार्य भएको” बताउनुभयो।
कार्यक्रममा प्रमुख अतिथिको हातबाट छात्रा रिचा यादव एवं रितेश कृष्ण यादवलाई छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो। छात्र छात्राहरू एसइइ परीक्षामा उत्तकृष्ट अङ्क ल्याएका थिए।
हरेक वर्ष शहीद रामकृष्ण राउतको श्रद्धाञ्जली दिँदै आएको क्रममा यस वर्ष जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र साहले शहीद रामकृष्ण राउतलाई श्रद्धाञ्जली दिँदै भने-“हरेक मानिसको मृत्यु त निश्चित नै हो, तर समस्त मधेसी जनताको हक अधिकारका लडाईका आन्दोलनमा आफ्नो ज्यानलाई सहादत दिने रामकृष्ण राउत अमर भए, उनलाई जनताले पुस्तो पुस्तासम्म स्मरण गरिरहने छ।” बताउँदै “मधेसी जनताको हक अधिकार प्राप्तिका लागि हामीले निरन्तर आन्दोलन जारी नै राख्ने छौं, तर अबको आन्दोलन रक्तरञ्जित होइन, शान्तिपूर्ण प्रक्रियाबाट गर्नेछौं र सम्पूर्ण अधिकार प्राप्ति गर्नेछौं” बताउनुभयो।