काठमाडौं —जेन जीको आन्दोलनको क्रममा कारागार तोडेर फरार भएका कैदीबन्दीहरुलाई कारागार फिर्ता हुन र नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।
सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनको क्रममा कारागारबाट भागेका कैदीबन्दीहरुका कारण समाजमा त्रास र असुरक्षाको अवस्था सिर्जना भएको भन्दै सो आग्रह गरेको हो। यस्तै आयोगले बालसुधारगृहमा रहेका व्यक्तिहरु समेत सुधारगृहबाट भागेका भनी जानकारी आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले कैद भुक्तान गरिरहेका कैदीबन्दीहरु कारागारबाट भागी बाहिर निस्कँदा नेपालको संविधानको धारा २१ मा व्यवस्था भएको अपराध पीडितको हक, अपराध पीडित संरक्षण ऐन, २०७५ तथा अपराध पीडितको अधिकार सम्बन्धी घोषणापत्र, १९८५ द्वारा प्रदत्त अपराध पीडितको न्यायको अधिकार हनन् हुने जनाएको छ ।