भूपदेव माली
असोज ३१, सप्तरी। मातृभूमि प्रतिष्ठान नेपालद्वारा आयोजित नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा रोयल सेकेन्डरी स्कुल पोर्ताहाका छात्र महेश राय प्रथम भएका छन्।
‘राष्ट्र निर्माणमा युवाको भूमिका’ शीर्षक राखेर सम्पन्न प्रतियोगितामा नगरका जम्मा आठवटा माध्यमिक विद्यालयका छात्र- छात्राहरु मध्ये रोयल सेकेन्डरी स्कुलका छात्र महेश राय अत्यधिक अंक ल्याएर प्रथम भएका हुन्।
उनले ‘राष्ट्र निर्माणमा युवाको भूमिका ‘ सम्बन्धमा उत्कृष्ट भाषाशैली एवं कला प्रस्तुत गर्दै कार्यक्रममा सहभागी दर्शकहरूलाई आकर्षित गरेका थिए।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका स्थित शिशु सदन इङ्लिस बोर्डिङ स्कुल मा आयोजित प्रतियोगितामा द्वितीय स्थान सरस्वती शिशु सदन इंग्लिस बोर्डिङ स्कूल भारदहबजारका छात्रा केमिका यादव र तृतीय स्थान एभरेस्ट मावि हनुमाननगरका छात्रा दिवयानी यादव भएका छन्।
सम्पन्न कार्यक्रममा मातृभूमि प्रतिष्ठान नेपालका अध्यक्ष विष्णुकुमार राउत, सचिव सुमन कुमार मिश्र, नगरका आठवटा मावि का प्रतिनिधि एवं विद्यार्थीहरू सहभागी भएका थिए। प्रतियोगितामा निर्णायक समितिका संयोजक हरिमोहन सुतिहार थिए भने प्रमुख अतिथिको रुपमा नगरका मेयर वीरेन्द्र माझी रहेका थिए।