• img
  • img
img img img
Categories
Uncategorized

पत्रकारमाथि नगर प्रमुखको दुर्व्यवहारपछि कञ्चनरुपका कलमधारी एकजुट: ‘यो केवल अनिशको होइन, सम्पूर्ण पत्रकारको अपमान हो’

img

पत्रकारमाथि नगर प्रमुखको दुर्व्यवहारपछि

कञ्चनरुप, सप्तरी — असोज २९

मंगलबारको दिउँसो कञ्चनरुप नगरपालिका कार्यालय परिसरमा शिक्षक र कर्मचारीहरू तलबसम्बन्धी मागसहितको आन्दोलनमा थिए। भीडबीच पत्रकार अनिश शेख हातमा मोबाइल लिएर दृश्य टिपिरहेका थिए — उनीजस्तै अरू पत्रकारहरूले पनि दिनहुँजसो गर्ने सामान्य काम। तर त्यो दिन सामान्य रहेन।

नगर प्रमुख ललन प्रसाद गुप्ताको नजर अनिशमाथि पर्नासाथ वातावरण तनावग्रस्त बन्यो। “तिमी कुन पत्रकार हौ? तालिम कहाँबाट लिएको हौ?”— प्रमुखको रुखो आवाजले हावामा हलचल ल्यायो। उपस्थित सबैको ध्यान त्यतातिर मोडियो। त्यसपछि त झन् अवस्था बिग्रियो।

अनिशले आफूले पेशागत दायित्व पुरा गरिरहेको बताउँदा पनि नगर प्रमुखले असहिष्णुता देखाए। मोबाइल खोस्न नगर प्रहरीलाई आदेश दिँदै उनले आफैं पनि जबर्जस्ती भिडियो डिलिट गर्न लगाए। प्रमाण मेटाउन खोजिँदै थियो। अनि सुरु भयो हातपात— गलहत्याउँदै पत्रकारलाई कार्यालय बाहिर निकालियो। त्यतिमात्र होइन, प्रेस कार्डसमेत च्यातिएको तथ्य पछि पुष्टि भयो।

यो घटनाले कञ्चनरुपका सञ्चारकर्मीहरूको मनमा गहिरो चोट पुर्‍यायो। पत्रकारमाथि भएको दुर्व्यवहारले न केवल अनिशको आत्मसम्मानमाथि प्रहार गर्‍यो, बरु सम्पूर्ण पत्रकार समुदाय र लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै चोट पुर्‍यायो।

यही पृष्ठभूमिमा बुधबार (असोज २९ गते) कञ्चनरुपका पत्रकारहरू एकै स्वरमा उठे। अवलोकित दैनिकका सम्पादक भोला पासवान ‘प्रकाशकर’को पहलमा विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गरे। विज्ञप्तीमा भनिएको छ —

“जनताको सत्य सूचना पस्किन अहोरात्र खटिने पत्रकारमाथि गरिएको यो आक्रमण केवल व्यक्तिगत अपमान नभई संपूर्ण पत्रकार समुदाय र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार हो।”

पत्रकारहरूले तीन स्पष्ट माग अघि सारे — दोषी नगर प्रमुखमाथि तत्काल कानूनी कारबाही, संलग्न नगर प्रहरीमाथि पनि कार्यवाही, र पत्रकारहरूले स्वतन्त्र र सुरक्षित रूपमा काम गर्न पाउने सुनिश्चितता।

“हामी कुनै पक्षका होइनौं, हामी केवल सत्यका पक्षमा छौं,” विज्ञप्ती जारीपछि पत्रकार डम्बर राईले भने, “तर सत्य बोल्दा नै यदि हिँसाको सामना गर्नुपर्छ भने त्यो लोकतन्त्रको दुर्भाग्य हो।”

संयुक्त विज्ञप्तीमा हस्ताक्षर गर्नेहरूमा अवलोकित दैनिक का सम्पादक भोला पासवान ‘प्रकाशकर’, सम्भव समाचार का प्रकाश सम्पादक डम्बर राई, कञ्चन २४ न्यूज डटकम का सम्पादक अनिल पोखरेल, अपूर्व न्यूज डटकम का सम्पादक राजकुमार पासवान, अग्रज पत्रकार उत्तम अर्चाय, पब्लिक प्रेस दैनिक का प्रकाशक नविन कुमार यादव, सप्तकोशी खबर का प्रकाशक कैलाश माझी, इकोशी डटकम का सम्पादक मन्नु कुमार पासवान र कञ्चनरुप साप्ताहिक का प्रमुख संवाददाता किशोर पासवान छन्।

उनीहरू सबैको एउटै स्वर छ —

“पत्रकारको सम्मान लोकतन्त्रको सम्मान हो। यदि कलम डराउन थाल्यो भने सत्य बोल्ने आवाज मर्छ।”

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी