११ पुस, सप्तरी ।
अफरोज आलमले हिन्दु
धर्मविरोधी अभिव्यक्ति दिएको विरुद्धमा हिन्दु सम्राट सेना सप्तरी र बजरङ्ग दल सप्तरीको संयुक्त आव्हानमा शुक्रबार सप्तरी सदरमुकाम राजविराज पुर्ण रुपले बन्द भएको छ ।
अफरोज आलमले हिन्दु धर्म विरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै सोकाे विरुद्ध हिन्दु सम्राट सेना तथा बजरङ्ग दलले आव्हान गरेको बन्दको कारण सदरमुकाम राजविराज पूर्ण रुपले प्रभावित भएको हो ।
बन्दको कारण सप्तरी सदरमुकाम राजविराज अन्तर्गतका सरकारी कार्यालय, विद्यालय, पसल, उधोग व्यवसाय तथा यातायातका साधन पूर्ण रुपले ठप्प भएका छन् । बन्दले सरकारी तथा अन्य कार्यालयको कामकाज पूर्ण प्रभावित भएको छ ।
बन्दलाई मध्य नजर गर्दै प्रशासनले विहान देखि सुरक्षा व्यवस्था कडा पारिएको छ । सडकमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको थियो ।
आलमलाई कारबाहीको माग गर्दै हिन्दु सम्राट सेना तथा बजरङ्ग दल आवद्ध युवाहरूले राजविराजको मुख्य चौक र सडकमा टायर बालेर विरोध प्रदर्शन गर्दै मोटरसाइकल र्याली निकालेका छन्।
‘आलमलाई कानूनी कारबाही गर, दोषीलाई कारबाही गर, जय श्रीराम्, हिन्दु एकता जिन्दावाद, अफरोज आलम मुर्दावाद’ सहितको चर्को नारा लगाउदै नेता चौक, गजेन्द्र चौक हनुमान मन्दिर, सिडिओ र जिल्ला प्रहरी कार्यालय अगाडि लगायतका मुख्य सडकमा मोटरसाइकल र्यालीसहित चर्को नारावाजी गर्दै दिनभरी प्रदर्शन गरेका थिए ।
हिन्दु देवी देउताको बारेमा सामाजिक संजालमा गलत टिप्पणी गर्ने आलमलाई कारबाहीको माग राखी संघर्षमा उत्रिएको हिन्दु सम्राट सेना सप्तरीको भनाइ छ। हिन्दु सम्राट सेना, बजरङ्ग दल तथा विभिन्न हिन्दुवादी संघसंस्थाद्वारा् निकालिएको रैलीको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै शान्तिपूर्ण रुपमा माग सम्बोधन नभए थप सशक्त आन्दोलनमा उत्रिने बताएको छ।
राजविराज नगरपालिका १ रहमतपुर निवासी आलमले श्रीकृष्ण प्रति लक्षित गरि सामाजिक संजाल मार्फत अत्यन्तै अश्लील, अपमानजनक,र घृणायुक्त अभिव्यक्ति दिएको प्रदर्शनकारीहरुको आरोप छ ।
यसैगरी खुल्ला सिमाको फाइदा उठाउँदै बंगलादेशी रोहिंग्या मुसलमान नेपाल प्रवेश गर्ने आशंका गर्दै हिन्दु सम्राट सेनाले स्थानीय प्रशासनलाई सचेत समेत गराएको छ ।