न्युज1नेपाल संवादाता
कञ्चनरुप
सप्तरी — डिभिजन वन कार्यालय सप्तरीको आयोजनामा डिभिजन योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । स्थानीय सामुदायिक वनहरूको संरक्षण, सम्वर्धन तथा विद्यमान समस्या समाधानका विषयमा छलफल गर्दै उक्त गोष्ठी आइतबार सब–डिभिजन वन कार्यालय कञ्चनपुरमा सम्पन्न भएको हो ।
सब–डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रेन्जर सन्तोष कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सब–डिभिजन मातहतका २० भन्दा बढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, सचिवलगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
गोष्ठीमा सहभागीहरूले सामुदायिक वनसँग सम्बन्धित सीमा विवाद, चोरी निकासी, नदी कटान, घेराबेरा तथा वृक्षरोपण, संरक्षण पोखरी निर्माण, वन पैदावार संकलनलगायतका समस्याबारे आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा डिभिजन वन कार्यालय सप्तरीका अधिकृत अमृत कुमार पोखरेलले सहजीकरण गर्दै सहभागीहरूका सुझावलाई आगामी डिभिजन योजनामा समेटिने बताए ।