सुमन राई
कञ्चनरूप
कञ्चनरूप । नेकपा (एमाले) ले निर्वाचन क्षेत्र नम्बर १ मा क्षेत्रीय भेला आयोजना गर्दै प्रतिनिधिसभा उम्मेदवारको घोषणा तथा ५ सय सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।
क्षेत्रीय समिति संयोजक राजकुमार साहको अध्यक्षतामा कञ्चनरूप नगरपालिका–९ स्थित फुलवारी पार्टी प्यालेसमा सोमबार सम्पन्न भेलामा ५ सय सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको जिल्ला सचिव देवनाथ यादवले जानकारी दिनुभयो। उहाँका अनुसार समितिमा केन्द्रीय, प्रदेश, जिल्ला, नगर कमिटीका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न जनवर्गीय संगठनका अध्यक्ष, जनप्रतिनिधि लगायतको सहभागिता रहनेछ।
एमालेले यस क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि सुमनराज प्याकुरेललाई उम्मेदवारका रूपमा अघि सारेको छ।
भेलाका प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा मधेश प्रदेश सरकारका पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले देशको वर्तमान जर्जर अवस्थाबारे चर्चा गर्दै अब मुलुकमा एमालेको सरकारबाहेक अन्य विकल्प नरहेको बताउनुभयो। उहाँले एमालेको सरकार नआए देशको अस्तित्व नै संकटमा पर्न सक्ने दाबी गर्दै राष्ट्रहितका लागि सूर्य छापमा मतदान गर्न आम जनतालाई आग्रह गर्नुभयो।
लेखीले साना क्षेत्रीय पार्टीहरूले केही सिट जिते पनि न सरकार बनाउन सक्ने न जनताको काम गर्न सक्ने भन्दै देशको हितमा काम गर्ने मुख्य दुई पार्टी एमाले र कांग्रेस मात्रै रहेको दाबी गर्नुभयो।
यस्तै उम्मेदवार सुमनराज प्याकुरेलले आफू लामो समयदेखि यस क्षेत्रमै रहेर जनताको दुःख–सुखमा साथ दिँदै आएको उल्लेख गर्दै जनताको मन–मस्तिष्कमा आफू बसिसकेको दाबी गर्नुभयो। उहाँले एमालेले यस क्षेत्रमा १० वर्षदेखि उम्मेदवार नउठाएको कारण अबको निर्वाचनमा जित एमालेकै हुने ठोकुवा गर्नुभयो।
प्याकुरेलले सहकारी ठगी, विदेशी स्वार्थ र राष्ट्रहितविपरीत गतिविधिमा संलग्न दलहरूबाट जनताले कुनै आशा गर्न नसक्ने बताउँदै साना क्षेत्रीय पार्टीहरूले जतिसुकै तडकभडक गरे पनि राष्ट्रिय नेतृत्वको पहुँचमा पुग्न नसक्ने धारणा व्यक्त गर्नुभयो।
भेलामा स्थायी समिति सदस्य तथा पूर्व मन्त्री सत्य नारायण मण्डल, पूर्व केन्द्रीय सल्लाहकार समिति सदस्य गंगा प्रसाद यादव तथा केन्द्रीय सदस्य सरीता गिरीले एमालेको चुनावी रणनीतिबारे सुझाव दिनुभएको थियो। विभिन्न पालिकाका अध्यक्षहरूले आ–आफ्ना पालिकाका गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।
क्षेत्रीय सचिव सरोज मगरले सञ्चालन गरेको कार्यक्रममा पार्टीका विभिन्न संगठन तथा तहका नेता–कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा कञ्चनरूप–२ का छेदीलाल पण्डित एमालेमा पुनः प्रवेश गरेका छन्। केही वर्षअघि पार्टी छाडेका पण्डितलाई उम्मेदवार प्याकुरेल, लेखी, सरीता गिरी र मण्डलले संयुक्त रूपमा अबिर र माला लगाएर पार्टीमा स्वागत गरेका हुन्।
साथै फुलवारी पार्टी प्यालेस परिसरमा एमाले नगर पार्टी तथा निर्वाचन परिचालन समितिको कार्यालयसमेत उद्घाटन गरिएको छ।