न्यूज1नेपाल संवाददाता
कञ्चनरूप
नेकपा (एमाले) ले प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि निर्वाचन क्षेत्र नम्बर १ मा क्षेत्रीय भेला आयोजना गर्ने भएको छ। यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका सम्पूर्ण काम–कारबाहीको जिम्मेवारी तय गर्न कञ्चनरूप नगरपालिका–९ स्थित फुलवारी पार्टी प्यालेसमा सोमबार भेला आयोजना गर्न लागिएको हो।
क्षेत्रीय सचिव सरोज मगरका अनुसार भेलाले निर्वाचन कार्यालय स्थापना, चुनावी व्यवस्थापन समिति, प्रचार–प्रसार समिति, आर्थिक समिति लगायत विभिन्न उपसमिति गठन गर्नुका साथै समग्र चुनावी रणनीति निर्माण गर्नेछ।
निर्वाचन क्षेत्र नम्बर १ मा कञ्चनरूप, सप्तकोशी, कंकालिनी, हनुमाननगर, तिरहुत नगरपालिका तथा अग्नीसाइर कृष्णासवरन गाउँपालिका गरी पाँचवटा पालिका पर्दछन्। यस क्षेत्रको कुल मतदाता संख्या ६१ हजार ७ सय १० रहेको छ, जुन जिल्लाकै सबैभन्दा ठूलो र बढी मतदाता भएको निर्वाचन क्षेत्र हो।
भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ का कारण संसद् विघटन भएपछि सुशिला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले गराउन लागेको प्रतिनिधि सभा निर्वाचनलाई राष्ट्रवादको लडाइँका रूपमा प्रस्तुत गरिएको एमालेको धारणा छ। यो निर्वाचनले राष्ट्रलाई घात गर्ने कि राष्ट्र निर्माणतर्फ अघि बढाउने भन्ने विषयमा आम जनतामा बहस चर्किएको बताइएको छ।
नेकपा (एमाले) बाट निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तथा पार्टीका पूर्व पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलले देश जोगाउने सवालमा जुटेका राष्ट्रप्रेमी जनताले एमालेको सूर्य चिह्नमा मतदान गरी आफूलाई विजयी गराउनेमा आफू विश्वस्त रहेको बताउनुभयो।