न्यूज 1 नेपाल सम्वाददाता
१४ माघ, सप्तरी ।
आसन्न फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरि सप्तरीमा निर्वाचन आचारसंहितको घटनामा वृद्धि हुन थालेपछि निर्वाचन सम्बन्धी आचारसंहिताको पालना गर्न कडाइ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आसन्न प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न २२ बुँदे निर्देशन जारी गरेको हो ।
जिल्लामा क्रियाशील राजनीतिक दल, उम्मेदवार, दलका भातृ संगठन, नागरिक समाज, सञ्चार प्रतिष्ठान, पत्रकार तथा आम सर्वसाधारण नागरिकलाई आचारसंहिताको पूर्ण पालना गर्न यस्तो आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा आचारसंहिता अनुगमन अधिकृत नरेशकुमार यादवद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन आयोगबाट जारी आचारसंहिता अनुसार मतदान हुने दिनभन्दा १७ दिन अगावैदेखि अर्थात् २०८२ फागुन ४ गतेदेखि मात्र तोकिएको मापदण्डभित्र रही निर्वाचन प्रचारप्रसार गर्न पाइने जिल्ला प्रशासन कार्यद्वरा जारी प्रेसविज्ञप्तिमा उल्लेख गरिएको छ ।
आचारसंहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले, फ्लेक्स तथा ग्लोसाइन बोर्ड प्रयोग गर्न नपाइने र दल वा उम्मेदवारको कार्यालयमा तोकिएको साइजको साइनबोर्ड, झण्डा र चुनाव चिन्ह बाहेक अन्य प्रचार सामग्री राख्न नपाइने विज्ञप्तिमा भनिएको छ ।
घरदैलो कार्यक्रम सञ्चालन गर्दा उम्मेदवार, प्रस्तावक तथा समर्थकसहित २५ जनाभन्दा बढी सहभागी हुन नपाइने, बाजागाजा तथा झाँकी प्रयोग गर्न नपाइने, जुलुस, आमसभा, कोणसभा, र्याली वा भेला गर्नुअघि स्थानीय प्रशासनको अनुमति लिनुपर्ने र मिति, समय, मार्ग तथा स्थानबारे कम्तिमा २४ घण्टा अगावै स्थानीय प्रहरीलाई जानकारी गराउनुपर्ने, एकभन्दा बढी राजनीतिक दल वा उम्मेदवारले एउटै समय र स्थानमा कार्यक्रम गर्न नपाइने र त्यस्तो अवस्थामा प्रशासनले दिएको निर्देशन अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख छ ।
निर्वाचन प्रचारप्रसारका क्रममा बढीमा १० वटा राष्ट्रिय झण्डा मात्र प्रयोग गर्न पाइने र सरकारी, अर्धसरकारी, शैक्षिक संस्था तथा सार्वजनिक निकायका भवन तथा क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी कुनै पनि कार्यक्रम, भेला वा प्रचारप्रसार गर्न नपाइने स्पष्ट गरिएको छ । उम्मेदवारले आयोगले तोकेअनुसार सीमित संख्यामा मात्र सवारी साधन प्रयोग गर्न पाउने र विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोग गर्न नपाइने २२ बुँदे निर्देशनमा भनिएको छ ।
यसैगरी उम्मेदवार वा निजको परिवारलाई डर, त्रास वा धम्की दिने, साम्प्रदायिक विद्वेष फैलाउने तथा धार्मिक, जातीय, लैङ्गिक वा अन्य संवेदनशील आधारमा मत माग्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ । साथै ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र र प्रतिष्ठामा आँच पुग्ने खालका कुनै पनि प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।
मतदानको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको कार्यक्रम, टिप्पणी, विश्लेषण वा सामग्री प्रकाशन तथा प्रसारण गर्न नपाइने जनाइएको छ । विदेशी सञ्चार माध्यमबाट प्रकाशित वा प्रसारित सामग्रीले नेपालको निर्वाचन, राजनीतिक दल वा उम्मेदवारलाई नकारात्मक असर पुर्याउने देखिएमा त्यस्ता सामग्री पुनःप्रकाशन वा प्रसारण गर्न नपाइने र दुष्प्रचार, मिथ्या सूचना तथा घृणात्मक अभिव्यक्ति फैलाउने सामग्री हटाउन सम्बन्धित सेवा प्रदायकलाई निर्देशन दिइने उल्लेख छ ।
विज्ञप्तिमा सञ्चार प्रतिष्ठान, त्यसमा आबद्ध कर्मचारी तथा पत्रकारले कुनै पनि राजनीतिक दल वा उम्मेदवारबाट दान, उपहार वा आर्थिक सहयोग लिन नपाइने भनिएको छ । यस्तै कसैको पक्ष वा विपक्षमा समाचार, टिप्पणी, विश्लेषण, टक सो, अन्तर्वार्ता, विज्ञापन वा सामाजिक सञ्जाल सामग्री प्रकाशन तथा प्रसारण गर्न निषेध गरिएको छ । सामाजिक सञ्जाल, एसएमएस, अनलाइन छापा तथा अन्य विद्युतीय माध्यममा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने सामग्री प्रकाशन, प्रसारण, पोस्ट, शेयर, लाइभ स्ट्रिमिङ, कमेन्ट वा ट्याग गर्न नपाइने स्पष्ट गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता, २०८२ अध्ययन गरी पूर्ण जानकारी लिन र अक्षरशः पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ । आचारसंहितासम्बन्धी कुनै द्विविधा भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय वा आचारसंहिता अनुगमन अधिकृतसँग सम्पर्क गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।