भूपदेव माली
१२ चैत, सप्तरी ।
सप्तरी जिल्ला अदालत राजविराजमा सेवा लिन आउने सेवाग्राहीलाई विना परिचयपत्रको अदालत परिसर भित्र प्रवेश गर्न निषेध गरिएको छ । अदालत प्रशासनद्वारा सूचना जारी गर्दै अवदेखि अदालत परिसरभित्र प्रवेश गर्न परिचयपत्र अनिवार्य भएको जानकारी गराएको हो ।
केही दिनयता अदालत परिसरमा अनावश्यक व्यक्तिहरूको भीड बढ्दै गएपछि सुरक्षा चुनौती बढेकोले यस्तो व्यवस्था गरिएको जारी सूचनामा उल्लेख छ । बेवजह हुलहुज्जत र चोरीजस्ता घटनासमेत बढ्न थालेपछि अदालत प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेको जनाएको छ ।
‘वि.सं. २०८२ साल चैत १२ गतेदेखि लागू हुनेगरी नयाँ सुरक्षा व्यवस्थापत्र जारी गरिएको छ। ‘ अदालत प्रशासनद्वारा जारी सूचनामा भनिएको छ,’अब अदालत परिसरमा प्रवेश गर्न सबैले अनिवार्य रूपमा परिचयपत्र वा सम्बन्धित कागजात देखाउनु पर्नेछ ।’
प्रवेशका लागि तोकिएको स्थानबाट मात्र भित्रिन पाइने व्यवस्था गरिएको सूचनामा उल्लेख गरिएको छ । यस कदमले अनावश्यक भीड नियन्त्रण गर्ने र अदालतको समग्र सुरक्षा सुदृढ बनाउने तर्फ अपेक्षा गरिएको जारी सूचनामा भनिएको छ ।
अदालत प्रशासनले सबै सेवाग्राही र सरोकारवालाहरूलाई नयाँ नियमको कडाइका साथ पालना गर्न आग्रह समेत गरेको छ ।