भूपदेव माली
१० चैत, सप्तरी ।
कानूनी जटिलताका कारण राजविराज नगरपालिका क्षेत्रमा फैलिएको लामखुट्टेलाई मार्ने विषादी छर्कनु कठिनाइ भएको राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इशरत प्रविनले बताएकी छन् । मंगलबार राजबिराजमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले नगरपालिकाले चाह्दांचाह्दै पनि कानुनी र नीतिगत त्रुटिका कारण लामखुट्टे नियन्त्रणको विषादी छर्कनु कठिनाइ भएको बताएकी हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै कार्यबाहक प्रमुख परविनले विगत केही दिन यता राजविराज नगरपालिकामा लामखुट्टेको प्रकोप बढेपनि त्यसको विरुद्ध विषादी छर्किन समस्या भएको बताइन्। उनले मानव स्वास्थ्य र स्वास्थ्य मन्त्रालयको निर्दैशिकाको व्यवस्था अनुसार लामखुट्टे विरुद्धको विषादी छर्किन कठिनाइ भएको स्पष्ट पारिन् ।
नगरक्षेत्रमा लामखुट्टेको प्रकोप बढ्दै गएपछि सोको नियन्त्रणका लागि विषादी छर्किनुपर्ने जनस्तरबाट गुनासो र दवाव बढ्न थालेपछि उनले यस्तो जानकारी गराएका हुन् ।
लामखुट्टे विरुद्धको औषधी छर्किन नमिल्ने बताउँदै उनले लामखुट्टे विरुद्धको विषादी छर्किन जिल्ला स्वास्थ्य कार्यालय मार्फत स्वास्थ्य मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पत्राचार गरेको भएपनि कुनै महामारीको प्रकोप विना त्यस्तो विषादी छर्न नमिल्ने भनि जवाफ आएकोले औषधी छर्किन नसकिएको बताइन् ।
यस्ता विषादीले मानव स्वास्थ्य तथा पर्यावरण समेत दुषित पार्ने भएकाले अन्य विकल्पबाट मछर नियन्त्रण गर्ने योजना बनाइएको बताइन् ।
लामखुट्टे प्रकोप नियन्त्रणका लागि मुख्य सडक, गल्ली तथा नालाहरुको सरसफाईमा विशेष ध्यान दिईने तथा जथाभावी फोहर फाल्नेलाई कारबाहीको दायरामा ल्याउने उनले पत्रकार सम्मेलनमा बताइन् ।
नगरपालिकामा मछरबाट फैलिन सक्ने महामारी रोग नियन्त्रणका लागि पूर्व तयारीका साथ विषादी छर्कन खरिद गरिएको औजार समेत जेनजी आन्दोलन क्रममा नष्ट भएको उल्लेख गर्दै उनले जनगुनासा आएपछि यसअघि समेत पटकपटक माथिल्लो निकायमा आफै पुग्दा पनि छर्कने सहमति नदिएको बताइन् ।
“मैले लामखुट्टे नियन्त्रणको विषादी छर्कन धेरै प्रयास पनि गरे, उनले भनिन्, माथिल्लो निकायहरुमा बुझे पनि तर सबैले कानूनी जटिलता देखाएपछि चाहेर पनि नगरपालिकाले लाम्खुट्टे विरुद्धको विषादी छर्कनु सकेनौं ।’

नगर स्वास्थ्य शाखाका प्रमुख कामेश्वर यादवले डेंगु, कालाजार, मलेरिया र औलो जस्ता रोगको महामारी बिना यस्ता विषादी छर्न जनस्वास्थ्य तथा मन्त्रालयको निर्देशिका विपरित हुने भएकाले लामखुट्टेको प्रजनन स्थललाई नै सरसफाईको माध्यमले नष्ट गरिनु उपयुक्त उपाय भएको बताए । उनले फोहोर तथा पानी जमेको स्थानहरुमा सरसफाई गरेरै लामखुट्टेको प्रकोपलाई नियन्त्रण गर्न सकिने हुँदा त्यतातिर ध्यान दिनुपर्नेमा जोड दिए। नगरपालिका तथा कसैको एकल प्रयासले मात्र सरसफाइलाई परिणाममुखी बनाउन नसकिने भन्दै उनले यसका लागि नगरपालिकाबासी तथा सरोकारवाला सबैको सहयोग अपरिहार्य रहेको बताए ।
योजना शाखा प्रमुख योजना अधिकृत मनोज यादवले जेनजी आन्दोलनका क्रममा सरसफाईमा प्रयोग हुने सबै सबारी साधन जलेर नष्ट हुँदा अहिले भाडामा लिएर भएपनि सरसफाईमा दैनिक १५ वटा ट्याक्टर प्रयोग गरिएको जानकारी दिदै निकट् भविष्यमै थप सवारी साधन प्रयोग गर्ने गरी खरिद प्रक्रियाको तयारी थालिएको बताए ।
नगरको फोहोर मैला व्यवस्थापन तथा लामखुट्टेको प्रकोप नियन्त्रणका लागि सरसफाई नै मुख्य उपाय भएको भन्दै उनले यसका लागि टोल सुधार र टोल विकास समिति गठन गरी अगाडी बढेको बताए ।
कार्यक्रम संचालन सामाजिक शाखा प्रमुख रविन्द्र कुमार साहले गरेका थिए ।