कञ्चनरूप चैत १५
सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरले बरामद गरेको लागू औषध गाँजा नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरले आइतबार सप्तरी जिल्ला अदालत राजविराजका नायब सुब्बा, कञ्चनरुप नगरपालिकाका प्रतिनिधि, इलाका प्रशासन कार्यालय कञ्चनपुरका प्रतिनिधि, पत्रकार तथा जनप्रतिनिधिको रोहबरमा उक्त गाँजा सुन्दरी खोलामा नष्ट गरेको हो।
प्रहरीका अनुसार फागुन ३० गते बेलुका करिब साढे ५ बजे जिल्लाको तिरहुत गाउँपालिका–२ बडहरा स्थित कञ्चनपुर–राजविराज हुलाकी सडकखण्डमा विशेष सूचनाको आधारमा चेकजाँचका क्रममा गाँजा बरामद गरिएको थियो। कञ्चनपुरबाट डिमनतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ ह ००२२ नम्बरको निलो रङको टिभिएस अटो रिक्सा जाँच गर्दा लागू औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।
उक्त अटो रिक्सा चालक कञ्चनरुप नगरपालिका–७ सितापुर टोल निवासी ४२ वर्षीय जामुन महतो र सोही अटोमा सवार अजय सरदारकी श्रीमती २८ वर्षीया कविता कुमारी माझीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
बरामद गरिएको गाँजाको नापतौल गर्दा प्लास्टिकसहित १ सय ११ दशमलव ८ किलोग्राम तथा प्लास्टिक बाहेक १ सय ५ दशमलव ५ किलोग्राम रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजन रायमाझीले जानकारी दिएका छन्।