सुमन राई
कञ्चनरूप, चैत १६
नेपाल पत्रकार महासंघ सप्तरी शाखाले आफ्नो ७०औँ स्थापना दिवसको अवसरमा सोमबार सञ्चारकर्मीहरूका लागि नि:शुल्क कान परीक्षण शिविर सञ्चालन गरेको छ।
पत्रकारहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै कानसम्बन्धी समस्या पहिचान तथा उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको महासंघका अध्यक्ष श्रवण देवले जानकारी दिए। उनका अनुसार शिविरमा चार दर्जनभन्दा बढी पत्रकार तथा सञ्चारकर्मीहरूले कान परीक्षण गराएका छन्।
राजविराजस्थित मलेठमा रहेको इम्प्याक्ट नेपाल ठाकादेवी–जोगेन्द्र भगत कान उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। शिविरमा कान उपचार कार्यकर्ता मनोज मण्डल र दिल्लीबहादुर अधिकारीले सहभागी सञ्चारकर्मीहरूको कान परीक्षण तथा आवश्यक परामर्श दिएका थिए।
शिविरका क्रममा कानसम्बन्धी सामान्य समस्या, सुनाइ कम हुने समस्या तथा अन्य सम्भावित रोगहरूको प्रारम्भिक परीक्षण गरिएको जनाइएको छ। पत्रकारहरूको स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने महासंघले जनाएको छ।