कञ्चनरूप
कञ्चनरूप । कञ्चनरूप सहरी खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाको नगर अधिवेशनको पूर्वसन्ध्यामा वडा तहका समिति गठन प्रक्रिया तीव्र पारिएको छ। आइतबार सम्पन्न वडा नं. १२ को भेलाले छत्रनारायण श्रेष्ठको संयोजकत्वमा नौ सदस्यीय खानेपानी, सरसफाइ तथा उपभोक्ता समिति गठन गरेको हो।

संस्थाको विधानअनुसार गठित समितिमा ६ जना पुरुष र ३ जना महिला सदस्य रहेका छन्। समितिका सदस्यहरूमा हेम अधिकारी, मेयर अली, सीता कार्की, कुदरत अली, मिश्रा पौडेल, विनबहादुर पाण्डे, मो. करीम र राधिका श्रेष्ठ चयन भएका छन्। आगामी असोज मसान्तभित्र सम्पन्न हुने नगर अधिवेशनमा वडा समितिका प्रतिनिधिले सहभागिता जनाउने जनाइएको छ।
कञ्चनरूप नगरपालिकाका वडा नं. ४, ५, ८, ९, ११ र १२ मा खानेपानी आयोजना सञ्चालनमा रहेका छन्।
नगर समितिका सचिवका अनुसार असोज ५ गतेसम्म सबै वडामा भेला सम्पन्न गरी समिति चयन गरिसक्नुपर्नेछ।
एशियाली विकास बैंक (एडीबी)सँगको सम्झौताअनुसार करिब ७६ करोड रुपैयाँको लगानीमा पाँच वर्षको अथक प्रयासपछि आयोजना सम्पन्न भएको हो। हाल ४ हजार २५९ घरधुरीले खानेपानी सेवा उपभोग गरिरहेको समितिले जनाएको छ।
भेलाका प्रमुख अतिथि नगर उपप्रमुख मुना कुमारी पोखरेलले खानेपानी तथा सरसफाइ मानव जीवनका लागि अत्यावश्यक भएकाले यसको संरक्षण र संवर्धनमा सबैले योगदान गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा कार्यवाहक वडाध्यक्ष जैनुद्धिन मियाँ, नेपाल पत्रकार महासंघ सप्तरी शाखाका कार्यवाहक सचिव डम्बर राई, समाजसेवी जीतबहादुर श्रेष्ठ र अधिवक्ता श्याम पोखरेलले मन्तव्य व्यक्त गरेका थिए।
मूल समितिका उपाध्यक्ष रामेश्वर यादवले संस्थाको गतिविधि, आर्थिक अवस्था, उपभोक्ता सेवा तथा विधान र नियमावलीबारे जानकारी गराएका थिए। भेलाको अध्यक्षता छत्रनारायण श्रेष्ठले गरेका थिए भने सञ्चालन मूल समितिका सचिव रोशनकुमार गुप्ताले गरेका थिए।