सामुदायिक वनका रोकिएका कामलाई पूर्णता दिने निर्णय
सुमन राई
कञ्चनरूप, ३० भदौ । सामुदायिक वन उपभोक्ता महासंघ नगर समन्वय समितिले उपभोक्ता समूहका रोकिएका कामलाई प्राथमिकताका साथ अघि बढाउँदै पूर्णता दिने निर्णय गरेको छ।
कञ्चनरूप–११ बक्साहमा मंगलबार महासंघ नगर समन्वय समितिका अध्यक्ष ओमनारायण परमाणीको अध्यक्षतामा बसेको बैठकले सामुदायिक वन उपभोक्ता समूहको विधान तथा कार्ययोजना नवीकरण, महासंघमा सदस्यता र उपभोक्ता समूहको स्थायी लेखा नम्बर (प्यान) प्राप्तिका लागि आवश्यक सहजीकरण तथा सहयोग गर्ने निर्णय गरेको हो।
बैठकमा महासंघकी संघीय सदस्य असरादेवी चौधरीले विधान र कार्ययोजना नवीकरण तथा स्थायी लेखा नम्बर नभएका समूहले कानुनी तथा संस्थागत रूपमा काम गर्न कठिनाइ हुने बताइन्। त्यस्ता समूह महासंघमा समेत आबद्ध हुन नसक्ने उनको भनाइ थियो।
यसैगरी संघीय महासंघका सदस्य कृष्णदेव चौधरी र प्रदेश कोषाध्यक्ष राजकुमारी चौधरीले महासंघको भूमिका तथा सामुदायिक वन उपभोक्ता समूहको काम, कर्तव्य र जिम्मेवारीबारे जानकारी गराएका थिए।
सञ्चारकर्मी डम्बर राईसहित विभिन्न उपभोक्ता समूहका अध्यक्षहरूले समूहले भोग्दै आएका समस्या तथा सञ्चालन भइरहेका गतिविधिबारे धारणा राखेका थिए।
संघीय महासंघको महाधिवेशनको पूर्वतयारीसँगै स्थानीय, जिल्ला र प्रदेश समितिको अधिवेशन गर्नुपर्ने भएकाले नगरस्तरीय महासंघको अधिवेशनसमेत छिट्टै गर्ने बैठकले निर्णय गरेको छ। नवीकरण भएका उपभोक्ता समूहबाट अधिवेशनका लागि प्रतिनिधि माग गर्ने तयारीसमेत गरिएको छ।