• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

खाँडो नदीमा पुल निर्माण कार्य अलपत्र, ठेकेदार वेपत्ता

img

सप्तरी । सदरमुकाम राजविराजलाई मुख्य भन्सार नाकासँग जोडने राजविराज–कुनौलि सडक खण्ड अन्तर्गत रहेको खाँडो नदिको पुल निर्माण कार्य बर्षौदेखि अलपत्र रहेको छ । ठेकेदार कम्पनीले निर्धारित समयमा काम पुरा गर्न नसक्दा उक्त क्षेत्रका सर्वसाधारणहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।
खाँडो नदीमा चार वर्षदेखि पुल निर्माणको कार्य अलपत्र रहेको तथा ठेकेदार कम्पनीले आवश्यक डाईभर्सन समेत नवाएका कारण आफुहरु निकै जोखिम पुर्ण यात्रा गर्न बाध्य भएको स्थानियहरुको गुनासो छ । ‘पछिल्लो ४/५ बर्ष देखि यस्तै नियति भोग्दै आएका छौ’, सप्तरी तिलाठीका कृपानन्द झाले भने, ‘बर्षामा बाढीका कारण आवत जावत पनि ठप्प हुने गर्छन, हिउँदमा बालुवै बालुवा पुरिएको हुनाले यात्रा झन् कष्टकर वन्ने गर्छन ।’

सडक भएर गुडने सिटि रिक्सा तथा साना टेम्पुहरु

पछिल्लो बाढीले उक्त डाईभर्सन वगाई दिएपछि नेपाली सेना तथा सशस्त्र प्रहरीको सहयोगमा तत्कालका लागि बोरा पाईलिङ्ग गरेर डाईभर्सन निर्माण गरिएको थियो । तर हाल उक्त डाईभर्सन जिर्ण भईसक्नुका साथै खाल्डै खाल्डो भएको बोर्डर आउट पोष्ट तिलाठीका सशस्त्र प्रहरी निरीक्षक जंगबहादुर भट्टराईले जानकारी गराए । ‘उक्त सडक भएर गुडने सिटि रिक्सा तथा साना टेम्पुहरु पुल नजिक दैनिक जसो दुर्घटना हुने गरेको छ’, उनले भने, ‘उक्त पुलको अर्को विकल्प पनि छैन, जोखिम पुर्ण यात्रा गर्नुपर्ने बाध्यता जस्तै भएको छ ।’
राजविराज–कुनौली सडक जिल्लाको दक्षिणी भेगलाई जोडने मुख्य सडक हुन् । दक्षिणी भेगका सर्वसाधारणलाई अत्यावश्यक कामका लागि राजविराज तथा सिमावर्ती कुनौली बजार जानका लागि एक मात्र सडक यही नै हो । सप्तरीको मुख्य भन्सार नाकालाई सदरमुकाम जोडने एक मात्र सडक पनि यहि हो ।
सडक हिडने लायक नभएपछि आफुहरुको जनजिवन समस्याग्रस्त बन्न पुगेको तिलाठी–९ अञ्जनीकुमार दासको भनाई छ । ‘यो सडक भनेको हाम्रो लाईफ लाईन हो’, उनले भने, ‘दैनिक उपभोग्यका सामग्री, अत्यावश्यक औषधी सहितको समस्या सडकले उब्जाईदिएको छ, झन खोलामा वाढी आएका वेला त जोखिमै मोल लिएर वारिपारी गर्नु पर्ने वाध्यता छ ।’

‘खाँडो नदीमा कहिले बन्ला त पुल ? अनि कहिले सडक सुचारु होलान ?’ दक्षिणी भेगका अधिकांश स्थानियको यस्तै प्रश्न हुने गर्दछन् ।

भारतले दशगज्जा छेउमै बाँध वनाएका कारण नदीको पुरानो मुहान पुरिएर पुरानो पुल प्रयोग विहिन भएको छ । पुरानो पुल पुरिएपछि पुल भन्दा मुश्किलले १० मिटर पश्चिममा झण्डै २ सय मिटर जति सडक कटान गरेका छन् । सोहि ठाउँमा तत्कालका लागि डाईभर्सन निर्माण र पुरानो पुल भएकै छेममा नयाँ पुल निर्माण लगायतका लागि करिब साढे ५ करौड रुपैयाँको टेण्डर काठमाण्डौका पप्पु÷मृत सञ्जीविनी जेयूले कबोलेका छन् ।

३१ असार, २०७१ मै सम्झौता गरेको उक्त ठेकेदार कम्पनीले हाल सम्म त्यहाँ तीन वटा पिल्लर निर्माण वाहेकको काम गर्न सकेको छैन ।

स्थानियहरुले जतिसुकै दवाव दिएपनि ठेकेदार कम्पनीले हाल सम्म त्यहाँ उपयुक्त डाईभर्सन समेत वनाउन सकेको छैन । पछिल्लो दुई वर्ष यता ठेकेदार पनि फरार जस्तै रहेको स्थानियहरु बताउँछन् । निर्माण स्थलमा रहेको ठकेदार कम्पनीको क्याम्प सुनसान छन्, उपकरण तथा अन्य सामग्रीहरु पनि ठेकेदारले लगि सकेका छन् ।

पुल निर्माण कार्य पुरा गर्न ३० असार, २०७३ सम्म म्याद रहेको थियो । यद्यपी ०७२ बैशाख तिरवाटै ठेकेदार कम्पनी निर्माण स्थलवाट वेपत्ता रहेको स्थानियहरुको भनाई छ । स्थानियहरुका अनुसार हाल सम्म ठेकेदारले १० प्रतिशत पनि काम गर्न सकेको छैन । उक्त कामका लागि ५ करोड ४२ लाख ९५ हजार ६ सय १२ रुपैयाँ १० पैसा बजेट रहेको ठेकेदार कम्पनीले कार्य स्थलमा लगाएको बोर्डमा उल्लेख रहेको छ ।
बर्षा याममा प्रत्येक वर्ष उक्त सडक खण्डमा यातायात अबरुद्ध हुन थालेपछि आर्थिक बर्ष ०७०/०७१ मै सडक विभागले राजविराज–कुनौली सडक अन्तर्गत खाँडो नदीमा पुल निर्माण लगायतका कार्यहरुका लागि झण्डै ६ करोड भन्दा बढीको छुट्टा–छुट्टै योजनाहरु ल्याएका थिए । यद्यपी ठकेदार कम्पनीहरुको लापरवाहि तथा सडक विभाग र स्थानिय प्रशासन सहितका सरोकारवाला निकायहरुको निरीहताका कारण सडकको अवस्था जस्ताको त्यस्तै रहेको तिलाठी–कोईलाडी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष दिनेश्वर मिश्रले जानकारी गराए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी