सप्तरी । सप्तरीको राजविराज नगरपालिका वडा नं.–१ रहमतपुर गाउँको मुस्लिम समाज सप्तरी द्वारा आयोजित सम्मान कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को विकासका लागि विशेष प्याकेजसहितको पर्याप्त बजेट नदिए केन्द्र सरकारलाई प्रदेशबाट जाने कर बन्द गर्ने चेतावनी दिएका छन्।
कार्यक्रममा यादवले भने, ‘प्रदेश २ लाई हेर्ने काठमाडौंको नजर अति नै पूर्वाग्रही छ। त्यहाँ बस्नेहरु मधेसका जनतालाई नागरिक मान्न पनि तयार छैनन्।’
राज्य सञ्चालकहरुको गलत नीतिकै कारण मुलुकको अवस्था जर्जर भएको भन्दै उनले कृषि, सिँचाइ, रुग्ण उद्योग र सडकको विकासका लागि विशेष प्याकेज बनाएर बजेट दिन केन्द्र सरकारसँग माग गरे।
मधेसी, दलित, जनजाति र पिछडिएको वर्गको विद्रोह र बलिदानबाट मुलुकमा संघीय प्रणाली लागू भए पनि विभेदको अवस्था अहिले पनि यथावत् रहेको बताउँदै अध्यक्ष यादवले विद्यमा भेदभाव समाप्त गर्न सके मात्रै देश समृद्ध वन्ने दाबी पनि गरे।
‘जो बिरामी छ, उसैले दबाइ खानुपर्छ, छिमेकीले खाएर हुँदैन’, यादवले भने, ‘यो सत्यलाई हामीले सम्बन्धित क्षेत्र र समुदायलाई बुझायौं। फलस्वरुप मधेस विद्रोह भयो र त्यसैको निरन्तरताले मुलुकमा संघिय प्रणाली लागू भयो।’
तर, संघीय प्रणालीमा पनि प्रदेशलाई अधिकार र साधन–स्रोतविहीन बनाउने षड्यन्त्र भएको भन्दै यादवले त्यस विरुद्ध पनि आफूहरुको संघर्ष जारी रहेको बताए। उनले भने, ‘प्रदेशलाई कानुन, कर्मचारी, बजेट र अधिकारविहीन बनाउने षड्यन्त्र भएको छ।’
‘हामी सबैको बराबर हक चाहन्छौं र सबैको पहिचानको ग्यारेन्टी चाहन्छौं’ भन्दै यादवले मुस्लिम समुदायमाथि राज्यका निकायमा हुने गरेका विभेदको अन्त्य गर्नकै लागि प्रदेश २ मा मुस्लिम समुदायबाट मुख्मन्त्री बनाइएको बताए।
गरिबी, अशिक्षा र बेरोजगारी हटाएर नमूना प्रदेश बनाइन्छ : मुख्यमन्त्री राउत
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री मो। लालबाबु राउतले गरिबी, अशिक्षा र बेरोजगारी हटाएर नमूना प्रदेश बनाउन आफूले काम गर्ने बताए।
उनले सम्पूर्ण पिछडा वर्ग एकजुट भएर लागे प्रदेश २ लाई मुलुककै १ नम्बर प्रदेश बनाउन सकिने दाबी समेत गरे। देशमा दलितभन्दा पनि मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा शैक्षिक अवस्था अझै कमजोर रहेको उनले जानकारी पनि दिए ।
कार्यक्रममा फोरम अध्यक्ष यादव, मुख्यमन्त्री राउतदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने नेपाली भाषामा अनुवाद गरिएको १/१ थान कुरान उपहार स्वरुप प्रदान गरिएको थियो।