सप्तरी । वैशाख २८ गते जनकपुर भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सप्तरीका कोशी पीडितका लागि राहत मागिने भएको छ ।
जिल्ला समन्वय समिति सप्तरीले मंगलबार पत्रकार सम्मेलन गरी प्रदेश सरकारमार्फत् भारतीय प्रधानमन्त्री मोदीसँग कोशी पीडितलाई समय सापेक्ष राहत र मुआब्जा माग गरिने जानकारी दिएको हो ।
कोशी व्यारेज निर्माण हुँदा जग्गा अधिग्रहण गरिए पनि हालसम्म राहत र मुआब्जा नदिइएको भन्दै पीडितले पटक पटक आन्दोलन गर्दै आएका छन् ।
यस्तै भारतकको निर्मली न्यौर जेपी लोहिया गेटसम्म रेल्वे रोड निर्माण गरिदिन, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा ठूला ठूला उद्योग स्थापना र व्यवस्थापन, जेपी लोहिया गजेन्द्रनारायण प्राविधिक विश्व विद्यालय निर्माणका लागि पहल गरिदिन पनि आग्रह गरिने जिल्ला समन्वय समितिले जनाएको छ ।
हुलाकी मार्ग निर्माण, कोशी व्यारेज पुनःनिर्माण र मर्मत सम्भार, कुनौली राजविराज रुपनी गाईघाट (सगरमाथा मार्ग_ निर्माण, सप्तरी जिल्लाको प्रसिद्ध शक्तिपीठ छिन्नमस्तार कंकालनी भगवती मन्दिरलाई पर्यटकीय स्थलको रुपमा विकास गरिदिन आग्रह गरिने जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले बताए ।
कृषियोग्य जमिन सिञ्चाइका लागि कोशी चतरा हाईड्याम्प (नहर) निर्माणका लागि प्रदेश सरकारमार्फत् भारतीय प्रधानमन्त्रीसँग आग्रह गरिने पनि उनले बताए ।