काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रदेश २ का मुख्यमन्त्रीको अमेरिका भ्रमणलाई रोक लगाउन नहुने बताएका छन् । उनले संघीय सरकारको निर्णय सच्याउनुपर्ने बताएका छन् ।
मन्त्रिपरिषद बैठकले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमणको प्रस्तावलाई सदर नगर्ने निर्णय गरेको थियो ।
मंगलबार पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले ट्विट गर्दै सरकारले गम्भीर गल्ती गरेको टिप्पणी गरेका छन् । यस निर्णयबाट संघ र प्रदेशबीच दुरी बढाउने उनको धारणा छ ।
‘प्रदेश–२ का मुख्यमन्त्रीलाई संघीय सरकारले विदेश भ्रमणमा रोक लगाएर गम्भीर गल्ती गरेको छ,’ भट्टराईले लेखेका छन्।
प्रदेश-२ का मुख्यमन्त्रीलाई संघीय सरकारले विदेश भ्रमणमा रोक लगाएर गम्भीर गल्ती गरेको छ। कारण जेसुकै भए/दिए पनि यसले भर्खरै संघीय पुनर्संरचनामा गएको देशमा संघ र प्रदेश बीच शंका/दूरी बढाउनेछ र गलत नजीर बसाल्नेछ!संघीय सरकारले तुरून्त निर्णय सच्याओस्!
— Baburam Bhattarai (@brb1954) May 22, 2018