सप्तरी । राजविराजस्थित बाल कल्याण गृहका बालकबालिकालाई मिलन डेरी उद्योगले शुक्रबार दूध खुवाएको छ। डेरी उद्योगले बालबालिकालाई दूध खुवाइ १८ अौं विश्व दूध दिवस मनाएको हो।१८ औं विश्व दूध दिवसको अवसरमा राजविराज नगर प्रमुख शम्भु यादवले दूध वितरण आरम्भ गरी दुग्धपान कार्यक्रमको उद्घाटन गरे।
बिहान आफ्नै हातले दूध खुवाउनुका साथै बेलुका खीर बनाउनका लागि दूध प्रदान गरिएको उद्योगका प्रोपाइटर तथा नेपाल डेरी एशोसिएसनका क्षेत्रीय संयोजक राघोप्रसाद सिंहले जानकारी दिए । मानिसले दूध अझैं आवश्यक मात्रामा सेवन गर्न नसकेको भन्दै सिंहले दैनिक दूध सेवनले स्वास्थ्यमा समेत फाइदा पुग्ने बताए।
नेपालमा अझै प्रतिव्यक्ति ९० लिटर दूध पिउनुपर्नेमा ७० लिटर मात्रै उपभोग भइरहेको जनाउँदै उनले व्यवसायीक दूध उत्पादमा राज्यले ध्यान दिनुपर्ने बताए। मासु, अण्डामा आत्मनिर्भर भएको नेपाल दूधको आत्मनिर्भरतातर्फ अगाडी बढ्दै गएको छ।